काठमाडौं, १ असोज । चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप आज अपरान्ह नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको चार्टर्ड जहाजले सवा २ बजे खोपलाई काठमाडौं ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए ।
सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ। खोप ल्याउन निगमको वाइडवडी ३३० जहाज बिहीवार बेइजिङ गएको थियो।
पहिलोपटक एकै खेपमा यति धेरै खोप ल्याइएको हो । यसअघि एक भायलमा दुई डोज मात्र हुन्थ्यो जसले एक खेपमा ८ लाख भायल ल्याउने गरिएको थियो। अहिले चीनले एक भायलमा ५ डोजको खोप उत्पादन गर्छ । जसले गर्दा एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिएको हो ।यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० डोज अस्ट्राजेनेका खोप आइसकेको छ।
आगामी असोजमा गाभी संयन्त्रमार्फत १ लाख डोज फाइजर खोप ल्याइने भएको छ भने वर्षको अन्त्यसम्म ६० लाख फाइजर ४० लाख मोडर्ना गरी एक करोड डोज खोप आउने जनाइएको छ । फाइजर मंसिरभित्र आउनेछ भने मोडर्ना केही समयपछि आउने भएको छ ।
FACEBOOK COMMENTS