काठमाडौं– राष्ट्रिय योजना आयोगले चालु आर्थिक वर्षमा ६.७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने प्रारम्भिक अनुमान गरेको छ।
बजेटमार्फत् सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको थियो।
‘हामीले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्यांकको आधारमा अनुमान अर्थ मन्त्रालयमा पठाएका हौँ’ योजना आयोगका एक अधिकारीले भने,‘यद्यपि यो सुरुवाती प्रक्षेपण हो, वर्षको पछिल्ला महिनामा हुने सरकारी तथा निजी क्षेत्रको खर्च र अन्य क्षेत्रबाट हुने सहयोगले आर्थिक वृद्धिदर ७.५ प्रतिशतभन्दा माथि पुग्न सक्छ।’
पहिलो तीन महिनामा भएका आर्थिक गतिविधि, बजारको अवस्था तथा कृषि उपज उत्पादनको अनुमानका आधारमा केन्द्रीय तथ्यांक विभागले आयोगमा आर्थिक वृद्धिको प्रक्षेपण पठाएको थियो। विभागले चालु वर्षको वास्तविक अनुमान फागुनपछि मात्रै सार्वजनिक गर्ने जनाएको छ।
योजना आयोगले पहिलो त्रैमासिक अवधिमा सरकारको खर्च न्यून हुने, कृषि क्षेत्रको उत्पादनको पनि अनुमान मात्रै गर्न सकिने र व्यापार तथा उद्योगमा हुने लगानी पनि यकिन नहुने भएकाले आर्थिक वृद्धिदर कम प्रक्षेपण गरिएको जनाएको छ।
FACEBOOK COMMENTS