काठमाडौँ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको क्षति भएकोप्रति एकीकृत समाजवादी पार्टीले चिन्ता व्यक्त गरेको छ ।
देशका विभिन्न भागमा बाढी, पहिरो र सडक दुर्घटनाका कारण ज्यान गुमाउनेप्रति पार्टीले श्रद्धाञ्जली अर्पण गर्नुका साथै डुबान समस्या र सडक दुर्घटनामा परी घाइते तथा विभिन्न समस्यामा परेका समुदायको उपचार, राहत र उद्धारका निम्ति देशभरका पार्टी कमिटी एवं जनसंगठनलाई सम्पूर्ण रुपमा परिचालित हुन पार्टीका अध्यक्ष क.माधवकुमार नेपालले निर्देशन दिएका छन् ।
वर्षाकै कारण नेपाली कृषक जनताको प्रमुख खाद्यान्न बाली धान भित्रायाउने कार्य प्रभावित भएको छ । काट्न ठिक्क पारिएको र काटेर थन्क्याउने अवस्थाका धान क्षति हुँदा नेपाली कृषक समुदाय पीडामा छन् । धान बाली सहित विभिन्न कृषि कार्यमा भएको क्षतिको यथोचित मूल्यांकन गरी पीडित कृषकलाई राहत र क्षतिपूर्ति दिनका निम्ति पार्टीले सरकारसमक्ष जोडदार माग गरेको छ ।
साथै, प्राकृतिक विपदको व्यवस्थापन तथा न्युनिकरणका लागि सरकारले अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न पनि माग गरेको छ ।
FACEBOOK COMMENTS