काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० मा देशको आर्थिक पुनरुत्सानले गति लिई आर्थिक वृद्धिमा केही सुधार हुने बताएको छ ।
केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्ष कृषिजन्य उत्पादनमा हुने केही वृद्धि, बन्दाबन्दीको अन्त्यपश्चात् आर्थिक गतिविधिमा देखिएको सुधार, पर्यटक आगमनमा भएको बढोत्तरी, आन्तरिक तथा बाह्य व्यापारमा भएको वृद्धिलगायतका कारण आर्थिक वृद्धिमा सुधार हुने देखिएको हो ।
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष धानबाली लगाइएको क्षेत्रफलमा ०.४० प्रतिशतले वृद्धि भए पनि धानबाली भित्र्याउने बेलाको बेमौसमी वर्षाका कारण धान नष्ट हुँदा उत्पादनमा ८.७४ प्रतिशतले ह्रास हुने देखिएको छ । तथापि, मकै र गहुँको उत्पादनमा भने वृद्धि हुने अनुमान छ ।
यस्तै, चालु आवमा आयातमा वृद्धि भएका कारण थोक तथा खुद्रा व्यापार क्षेत्रमा भएको सुधार, आन्तरिक पर्यटन विस्तार र बाह्य पर्यटक आगमनमा आएको सुधार, सडक तथा यातायातको क्षेत्रमा भएको वृद्धिले गर्दा सेवा क्षेत्रको विस्तार हुने देखिएको छ ।
FACEBOOK COMMENTS