काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज नेपालसँग संयुक्त अरब इमिरेट्स (युएई) ६ वीकेटले पराजित भएको छ ।
श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा भएको खेलमा नेपालका ओपनर सम्झना खड्काको ‘जादुमयी’ ब्याटिङमा नेपालले युएईविरुद्ध ६ विकेटको जित निकालेको हो । ओपनर खड्का ४५ बलमा ११ चौकाको मद्दतमा ७२ रन जोड्दै नटआउट रहिन् ।
सम्झनाको यो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक समेत हो ।
यूएईले प्रस्तुत गरेको ११६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १७औं ओभरमा पूरा गर्यो ।
त्यसअघि नेपालले टस जितेर यूएईलाई पहिलो ब्याटिङ गर्ने निम्तो दिएको थियो । यूएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन जोडेको थियो ।
नेपालले अब आइतबार पाकिस्तानको सामना गर्नेछ । त्यसपछि मंगलबार समूहको अन्तिम खेलमा नेपाल र भारत खेल्नेछन् । आज साँझ हुने समूहको खेलमा भारत र पाकिस्तान खेल्दैछन् ।
प्रतियोगिताको सेमिफाइनल शुक्रबार र फाइनल आइतबार हुनेछ ।
यसअघि सन् २०१२ र २०१६ मा दुई पटक सहभागिता जनाएको नेपालले यसअघिका सबै ८ खेलमा हार बेहोरेको थियो । नेपालले एसिया कपको नवौं खेलमा पुगेर पहिलो जित दर्ता गर्न सफल रह्यो । यो परिणामसँगै नेपालले एसीसी महिला एसिया कपमा इतिहासकै पहिलो जित हासिल गरेको छ ।
FACEBOOK COMMENTS