काठमाडौं । अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक जहाजमाथि आक्रमण गरेपछि गरिएको अमेरिकी दाबी छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले राज्य सञ्चारमाध्यममार्फत होर्मुज अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ । साथै, उक्त जहाजले आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरी स्वीकृत मार्गबाट विचलित भएपछि त्यसलाई उल्लंघनकारी ठहर गर्दै आक्रमण गरिएको दाबी गरिएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले भने आईआरजीसीले साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि स्पष्ट रूपमा आक्रमण गरेपछि यस साताभित्र तेस्रो चरणको हवाई आक्रमण गरिएको जनाएको छ ।
यसअघि पनि यही साता तीन वटा व्यावसायिक तेल ट्यांकरमाथि आक्रमण भएको थियो, जसपछि अमेरिका र इरानबीच सैन्य कारबाही र प्रतिकारको शृंखला सुरु भएको थियो ।
सेन्ट्रल कमान्डका अनुसार आक्रमणका कारण जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ, जसका कारण जहाजले आफ्नो यात्रा जारी राख्न सकेन । साथै, जहाजमा रहेका एक चालकदल सदस्य बेपत्ता रहेको पनि बीबीसीले उल्लेख गरेको छ ।
‘व्यावसायिक जहाजहरूमाथि यसअघि भएका आक्रमणका लागि जवाफदेही बनाइएपछि इरानलाई समझदारीपत्रको पालना गर्ने अर्को अवसर प्रदान गरिएको थियो । तर, उसले फेरि पनि त्यसको पालना गर्न सकेन,’ सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।