काठमाडौं । सर्लाही, धादिङ र मोरङबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले फक्राउ गरेको छ ।
सर्लाहीको हरिपुर नगरपालिका–९ दनुवारीबाट नियन्त्रित लागूऔषध ४ सय ९५ एम्पुल डाइजेपाम, ५ सय एम्पुल फेनारगन, १ सय ४४ एम्पुल स्पास्मोप्रोक्सभन र ५ सय एम्पुल लेबल तथा नाम नखुलेको लागूऔषधसहित दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–३ बस्ने ३५ वर्षीय दिपक खत्री र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–४ बस्ने २६ वर्षीय बिजय लामा रहेका छन् ।
ना.२० प ९३७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी मोटरसाइकल चालक दिपक र मोटरसाइकलमा सवार बिजयलाई पक्राउ गरेको हो ।
धादिङको गजुरी गाउँपालिका–२ चालिसेबाट करिब ५ किलो गाँजा सहित कास्की रुपा गाउँपालिका–१ फस्ल्याङकोट बस्ने २६ वर्षीय कृष्ण श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–४ सोमबारे चोकबाट करिब २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर, ९७ चक्की स्पसपेन र ९० चक्की प्रमोलसहित सोही ठाउँ बस्ने २१ वर्षीय अमृत लिम्बुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।
FACEBOOK COMMENTS