काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा ९९० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले सार्वजनिक गरेको वार्षिक विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ मा ती मुद्दा दायर गरिएको हो । “विशेष अदालतमा १७५ वटा आरोपपत्र दायर भएको (४ वटा सम्पत्ति शद्धीकरण कसुरको मुद्दासमेत) मा कुल ९९० जना प्रतिवादी बनाई २५ अर्ब ३१ करोड ३७ लाख ७३ हजार ५ सय २४ रुपैयाँ ४० पैसा बिगो मागदाबी गरिएको छ, जुन गत आर्थिक वर्षभन्दा चार गुणा बढी रहेको छ,” अख्तियारको विवरणमा उल्लेख छ ।
आर्थिक वर्ष २०८२/८३ मा अख्तियारले ६२ वटा बैठक बसी १७५ वटा मुद्दा दायर गर्नेसहित कुल एक हजार १३० वटा निर्णय गरेको थियो ।
अख्तिायरका अनुसार दायर गरिएका मुद्दाहरूमा सार्वजनिक सम्पत्ति हानीनोक्सानीसँग सम्बन्धित ५६ वटा, घुस/रिसवतसँग सम्बन्धित ४१ वटा, गैरकानुनी लाभ वा हानिसँग सम्बन्धित २७ वटा र झुट्टा/नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धी १५ वटा थिए । यस्तै, गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी ११ वटा, राजश्व चुहावट/हिनामिनासँग सम्बन्धित ५ वटा, सम्पत्ति शुद्धीकरण (घुस रिसवतसमेत) ४ वटा, सम्पत्ति शुद्धीकरण (गैरकानुनी सम्पत्ति आर्जनसमेत) १ वटा र अन्य विविध विषयका १५ वटा मुद्दा अख्तियारले दायर गरेको थियो ।
गत आर्थिक वर्ष रंगेहात कारबाही २७ वटा भएको अख्तियारले जनाएको छ । अख्तियारले विशेष अदालतमा दायर गरेका मुद्दामध्ये आर्थिक वर्ष २०८२/०८३ मा १५६ वटा फैसला भएका थिए । तीमध्ये ८१ वटा फैसलाहरूमा (५१.९२ प्रतिशत मुद्दामा) कसुर स्थापित भएको अख्तियारले जनाएको छ ।
विशेष अदालतबाट पूर्णपाठसहितको प्राप्त फैसलाहरूमध्ये आर्थिक वर्ष २०८२/८३ मा सर्वोच्च अदालतमा १०४ वटा पुनरावेदन गरिएको र ३ वटा मुद्दाहरू उपर पुनरावलोकन गरिएको छ ।