बागमती नदीमा पानीको बहाव घट्यो
कर्पोरट खबर
9:22 pm, आइतबार, साउन ३, २०८३
- बागमती नदीको गौरीघाटमा जलसतह घटेर सतर्कता तहभन्दा तल पुगेको छ, जसले तत्काल बाढीको जोखिम हटाएको छ।
- विभागले नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरे पनि बहाव घट्दो क्रममा रहेकाले चिन्ताको कारण नरहेको जनाएको छ।
काठमाडौ । अहिले काठमाडौं स्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज अपराह्न सतर्कता तह पार गरेपछि विभागले नदी आसपास बसोबास गर्ने सर्वसाधरणलाई सोमबार बिहानसम्मका लागि सतर्कता अपनाउन आग्रह गरे पनि तत्कालका लागि बाढीको जोखिम हटेको छ ।
विभागका अनुसार आज अपराह्न गौरीघाटमा बागमती नदीको पानीको सतह २.४१ मिटर पुगेको थियो । जुन नदीको पानीको तह २.१ मिटरमाथि सतर्कता तह हो ।
विभागको बाढीविद् सरस्वती विष्टले नदीको बहाव घट्दो क्रममा रहेकाले चिन्ता दिन नपर्ने बताए । “अहिले उक्त नदीको जलसतह सतर्कता तह कम छ , जलसतह घटेर २.२ मिटर नदीमा जल सतह पुगिसक्यो,” उनले भने ।
विभागका अनुसार बागमती नदीको पानीको सतह २.७ मिटर पुगेमा खतरा तह पार गर्नेछ । विभागले नदी किनार, डुबान भइरहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न, आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।