काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली कांग्रेसका सभापति गगन थापालाई देउवा समूहले पाँच बुँदे प्रस्ताव गरेको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, सदस्य, प्रदेश समितिका सभापति, जिल्ला सभापतिसहितको बैठकले नयाँ प्रस्ताव पठाएको हो । अलग्गै भेलाको तयारी गरिरहेको देउवा समुहले अन्तिम प्रयासको रुपमा नयाँ प्रस्ताव पठाएको बताइएको छ । देउवा समुहले सहमति नभएमा अलग्गै दल बनाएर अगाडी जाने तयारी समेत गरिसकेको छ । पाँच बुँदे प्रस्ताव : १- चौधौं महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने । २- सभापति गगनकुमार थापाको बहुमत रहनेगरी कार्यसम्पादन समिति बनाउने ।
३- पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने । ४- वर्तमान संस्थापन पक्षको वहुमत रहनेगरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू बनाउने । ५- महाधिवेशनको लागि सबैभन्दा महत्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टीभित्र विवाद हुनुपहिले नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५ औं महाधिवेशनमा स्वत: सहभागि हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने । डिजिटल इन्ट्रीलाई पुन: नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने–नपाउने विषयसँग नजोड्ने ।
२- लगातार वर्षा र बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा रातिको सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार सूचना जारी गर्दै आज राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइएको जनाएको हो ।
कार्यालयका अनुसार धादिङसहित छिमेकी जिल्लाहरू र चितवनका विभिन्न स्थानमा वर्षा भइरहेको तथा आगामी केही समय वर्षा अझै बढ्ने मौसम पूर्वानुमान रहेकाले रातिको समयमा सवारी सञ्चालन गर्दा दुर्घटना र बाढी–पहिरोको जोखिम उच्च रहने भएकाले यस्तो निर्णय गरिएको हो । प्रशासनले सर्वसाधारण तथा यातायात व्यवसायीलाई उक्त निर्णयको पालना गर्न, यात्रा अघि मौसम र सडकको अवस्थाबारे जानकारी लिन तथा अर्को सूचना जारी नभएसम्म रातिको यात्रा नगर्न आग्रह गरेको छ ।
३- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले इन्जिनियरिङलाई केवल एउटा पेशा नभई राष्ट्र निर्माणको अभियानका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । ६४औँ इन्जिनियर्स दिवसका अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले सडक, पुल, जलविद्युत्, प्रसारण लाइन, सिँचाइ, खानेपानी, भवन तथा सूचना प्रविधिसहितका पूर्वाधार विकासले नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको बताउदै आधुनिक, दिगो र गुणस्तरीय पूर्वाधार निर्माणमार्फत देशको समृद्धिको आधार तयार गर्ने जिम्मेवारी इन्जिनियरहरूको काँधमा रहेको बताएका हुन् । उनले सरकारले जलविद्युत् उत्पादन विस्तार, प्रसारण सञ्जाल सुदृढीकरण, सिँचाइ प्रणाली आधुनिकीकरण, नवीकरणीय ऊर्जाको विकास, डिजिटल पूर्वाधार विस्तार तथा जलवायु अनुकूल विकासलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए।
मन्त्री श्रेष्ठले अब विकास आयोजनाको सफलता बजेट खर्चका आधारमा मात्र नभई समयमै सम्पन्न हुने, गुणस्तर कायम हुने, लागतमा अनुशासन रहने र नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने परिणामका आधारमा मूल्याङ्कन गरिने स्पष्ट पारे। त्यसका लागि इन्जिनियरहरूबाट उच्च व्यावसायिक दक्षता, नैतिकता, पारदर्शिता र नवप्रवर्तनशील सोच आवश्यक रहेको उनको भनाइ थियो। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधार बन्दै गएको उल्लेख गर्दै उनले जलविद्युत् उत्पादन वृद्धि, क्षेत्रीय विद्युत् व्यापार तथा आधुनिक प्रविधिको प्रयोगमा दक्ष इन्जिनियरहरूको भूमिका अझ महत्वपूर्ण रहने विश्वास व्यक्त गरे। मन्त्री श्रेष्ठले पूर्वाधार विकासलाई केवल कङ्क्रिट र फलामको संरचनामा सीमित गर्न नहुने उल्लेख गर्दै यसले उत्पादन, रोजगारी, सामाजिक न्याय र नागरिकको जीवनस्तर सुधारमा प्रत्यक्ष योगदान पुर्याउने बताए। उनले सम्पूर्ण इन्जिनियरहरूलाई व्यावसायिक इमानदारी, गुणस्तर र राष्ट्रिय हितलाई सर्वोपरि राख्दै देशको समृद्धिका लागि अझ जिम्मेवार र सिर्जनशील भएर काम गर्न आह्वान गरे ।
४- युक्रेनको राजधानी किभमा भएको ड्रोन आक्रमणको जवाफस्वरूप रुसले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनमार्फत ठूलो हवाई आक्रमण गरेको छ । आइतबार करिब पाँच घण्टासम्म चलेको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । आक्रमणका कारण शहरका विभिन्न स्थानमा आगलागी हुनुका साथै भवनहरूमा व्यापक क्षति पुगेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमणमध्ये एक भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत विनाशका तस्बिर सार्वजनिक गर्दै रुसले किएभतर्फ करिब ४० वटा विभिन्न प्रकारका क्षेप्यास्त्र प्रहार गर्नुका साथै १२० वटा ड्रोन आक्रमण गरेको जानकारी दिएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार रुसले इस्कान्दर–एम र जिरकोन हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग गरेको थियो । स्थानीय समयअनुसार राति करिब साढे एक बजे हवाई आक्रमणको साइरन बज्नासाथ हवाई प्रतिरक्षा प्रणाली सक्रिय भएको थियो ।
त्यसको केही मिनेटमै लगातार विस्फोटका आवाज सुनिन थालेका थिए । राजधानीको ऐतिहासिक केन्द्रका घरहरू शक्तिशाली विस्फोटले हल्लिएका थिए भने सडकमा पार्क गरिएका सवारीसाधनका सुरक्षा घण्टीसमेत बज्न थालेका थिए । अधिकारीहरूका अनुसार एक घण्टाभित्रै दर्जनौँ क्षेप्यास्त्र शहरका विभिन्न क्षेत्रमा खसेका थिए । बिहान करिब साढे ६ बजे पुनः हवाई आक्रमणको चेतावनी जारी भएपछि शहरका विभिन्न भागमा फेरि विस्फोट भएका थिए । आक्रमणका क्रममा मध्य किएभस्थित शेभचेन्किभ्स्की जिल्लाको तीनतले भवनमा भीषण आगलागी भएको थियो । उद्धार टोलीले भग्नावशेषमा फसेका धेरैलाई सुरक्षित बाहिर निकालेको छ भने एक जनाको शव फेला परेको छ । यसबाहेक शहरका अन्य चार स्थानमा कार्यालय, आवासीय भवन र एक छात्रावासमा पनि आगलागी भएको जनाइएको छ । आक्रमणका बेला लुक्यानिभ्स्का मेट्रो स्टेशनमा आश्रय लिएका नागरिकहरूले सार्वजनिक गरेका दृश्यमा शक्तिशाली विस्फोटका कारण स्टेशनको प्रवेशद्वारको छानाको एक भाग भत्किएको देखिएको छ। सुरक्षाका कारण उक्त स्टेशन अस्थायी रूपमा बन्द गरिएको छ ।
किभ सैन्य प्रशासनले प्रारम्भिक विवरणअनुसार एक जनाको मृत्यु भएको पुष्टि गरेको छ। शहरका प्रमुख विताली क्लिच्कोले कम्तीमा सात जना घाइते भएको बताएका छन् । रुस र युक्रेनबीच २०२२ फेब्रुअरीदेखि पूर्णस्तरको युद्ध जारी छ । दुवै पक्षले दैनिकजसो एकअर्कामाथि हवाई तथा ड्रोन आक्रमण गर्दै आएका छन् । राष्ट्रपति जेलेन्स्कीले युक्रेनको हवाई प्रतिरक्षा क्षमता सुदृढ बनाउन पश्चिमी मुलुकसँग थप सहयोग तथा अमेरिकी प्याट्रियट अवरोधक क्षेप्यास्त्र उपलब्ध गराउन आग्रह गर्दै आएका छन् । यसअघि शनिबार युक्रेनी ड्रोन आक्रमणमा मस्को र ताम्बोभ क्षेत्रका विद्युतीय व्यापारसम्बन्धी गोदामहरूमा आक्रमण हुँदा आठ जनाको मृत्यु भएको थियो । जेलेन्स्कीले ती आपूर्ति केन्द्रहरू ड्रोन निर्माण तथा प्रतिबन्धित उपकरणका पुर्जा आपूर्तिमा प्रयोग भइरहेको दाबी गरेका छन् ।
५- नेपाली कांग्रेसको पूर्व सभापति शेरबहादुर देउवा समूहले बीपी स्मृति दिवसको कार्यक्रम छुट्टै गर्ने भएको छ । देउवा समुहले साउन ६ गते बीपी स्मृति दिवस मनाउन नेता प्रकाशमान सिंहको संयोजकत्वमा समिति बनाएको छ । समूहले आइतबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम गर्न सिंहको संयोजकत्वमा समिति बनाइएको जानकारी दिएको हो ।
कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा देउवा समूहले साउन ६ गते काठमाडौँको प्रज्ञा भवनमा विशेष विचार गोष्ठी आयोजना गर्ने निर्णय यसअघि नै गरिसकेको छ । कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा गठित आयोजक समितिले बीपी स्मृति दिवस भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी सुरु गरिसकेको नेता मीन विश्वकर्माले जानकारी दिएका छन् । काँग्रेसको संस्थापन पक्षले भने साउन ६ गते जलवायु जनचेतना जागौं ‘ग्रीन रन’ लगायतका कार्यक्रम गर्दैछ ।
६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति समेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टमा अर्थपूर्ण भेटवार्ता भएको छ । पत्नी निकिता पौडेलसहित रिसोर्टमा बसेका लामिछाने केहीबेर अघि काठमाडौँ फर्किएको सुरक्षा स्रोतले जानकारी दिएको छ । लामिछाने दम्पती र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शनिबार रिसोर्टमा पुगेको बताइएको छ । पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. वाग्लेसहित केहि मन्त्रीलाई हटाउने खोजेको भन्ने चर्चा चलिरहेका बेला र सरकार बारे व्यापक असन्तुष्टि बढिरहेका बेला यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
७- रुकुमपूर्व केन्द्र विन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार अपराहन्न ४: ३० बजे रुकुमपूर्वको कोल आसपास केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन ।
८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुन बनाउन आफ्नो संख्या नपुगे पनि सांसदहरुले बहस र संशोधनबाट सहि कानुन कस्तो हुन्छ भन्ने प्रकट हुनुपर्ने बताएका छन् । एमालेका सांसदहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले तय गरेको योजना र सिद्धान्तलाई सांसदहरुले बोकेर हिडेमा सानो भएपनि शक्ति निर्माण हुने बताउदै सानो संख्या भएपनि बहस र संशोधनबाट सहि कानुन कस्तो हुन्छ प्रकट हुनुपर्ने बताएका हुन् ।
ओलीले सांसदहरुलाई पार्टीका विभागसँग समन्वय गरेर संसदमा कुरा राख्न आग्रह गर्दै संगठित ढंगले काम गर्न निर्देशन दिए । ओलीले अहिले पनि युवाहरु विदेश जाने क्रम नरोकिएको टिप्पणी गर्दै गत बर्ष यति बेला देश खाली भएको भनेर प्रचार गरिएको तर अहिले भने विदेश जाने अधिकार हो भन्ने तर्फ ब्याख्या गरिन लागेको बताए । उनले मिटर ब्याजी पिडितहरुलाई सरकारबाट फेरी धोका पाएको बताउदै यो कुरा उनीहरुले केहि समयपछि थाहा पाउने टिप्पणी गरे ।
९- नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने श्रीलङ्का भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्। उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । प्रचण्ड साउन १ गते (जुलाई १५) श्रीलङ्का पुगेका थिए। भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुँदै उद्घाटन र समापन दुवै सत्रलाई सम्बोधन गरेका थिए । श्रीलंकामा प्रचण्डले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक शक्तिहरूसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए ।
१०- न्युयोर्कका मेयर जोहरान ममदानीले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क आउने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई पक्राउ गर्ने कानुनी सम्भावनाबारे अध्ययन भइरहेको बताएका छन् । उनले यस विषयमा सहरको कानुनी विभागसँग छलफल भइरहेको उल्लेख गर्दै कानुनले अनुमति दिएअनुसार नै आफूले निर्णय गर्ने बताएका छन् । ममदानीले नेतन्याहूको स्थान नेदरल्यान्ड्सको हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा हुनुपर्ने आफ्नो धारणा पनि दोहोर्याएका छन् । अन्तर्राष्ट्रिय अपराध अदालतले सन् २०२४ नोभेम्बरमा गाजामा कथित युद्ध अपराध र मानवताविरुद्धको अपराधको आरोपमा नेतन्याहूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
न्युयोर्क टाइम्सको एक अन्तर्वार्तामा ममदानीले नेतन्याहू युद्ध अपराधको आरोप खेपिरहेका व्यक्ति भएको र धेरै मानिसको धारणा पनि त्यही रहेको बताएका छन् । यता, संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत ड्यानी डाननले ममदानीमाथि यहुदी समुदायविरुद्धको वातावरण सिर्जना गरेको आरोप लगाएका छन् । उनले ममदानीले बढ्दो यहुदीविरोधी गतिविधिको सामना गर्नुको सट्टा इजरायलविरुद्ध माहोल बनाइरहेको टिप्पणी गरेका छन् । डाननले नेतन्याहूले सेप्टेम्बर २२ देखि २८ सम्म हुने संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने पुष्टि गर्दै मेयरको अभिव्यक्तिले त्यसमा कुनै प्रभाव नपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेतन्याहू होइन, बरु न्युयोर्कका मेयर ममदानी नै पक्राउ पर्नुपर्ने व्यक्ति भएको टिप्पणी गरेका छन् ।
यसअघि एक रेडियो अन्तर्वार्तामा नेतन्याहूले आफूलाई पक्राउ गर्ने धम्कीको कुनै चिन्ता नरहेको बताएका थिए । उनले ममदानीमाथि हमासको समर्थन गर्ने र अमेरिकाविरोधी सोच राखेको आरोप समेत लगाएका थिए । अमेरिका र इजरायल दुवै अन्तर्राष्ट्रिय अपराध अदालतका सदस्य राष्ट्र होइनन् । अमेरिकी संघीय कानुनले राज्य तथा स्थानीय प्रशासनलाई अन्तर्राष्ट्रिय अपराध अदालतका अनुरोध कार्यान्वयनमा सहयोग गर्न रोक लगाएको छ। गत वर्ष न्युयोर्ककी गभर्नर क्याथी होचुलले पनि मेयरसँग नेतन्याहूलाई पक्राउ गर्ने अधिकार नभएको बताएकी थिइन् ।
११- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी २० जना बालबालिकाको उद्धार गरेको छ । मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले बालगृहमा पुगेर अनुगमन गरेको थियो । अनुगमनका क्रममा बालगृहको सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरुम अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको भेटिएको थियो।
यस्तो अवस्था बालबालिकाको स्वास्थ्य र सुरक्षाका दृष्टिले गम्भीर जोखिमपूर्ण रहेको मन्त्रालयको निष्कर्ष छ । मन्त्रालयले नेपाल बाल संगठनको भौतिक अवस्था सुधार, सरसफाइ व्यवस्थापन तथा बालबालिकाको बसोबासलाई व्यवस्थित बनाउन विभिन्न समयमा पटक–पटक निर्देशन दिँदै आएको थियो। सम्बन्धित पक्षलाई मन्त्रालयमा बोलाएर छलफलसमेत गरिएको थियो। तर निर्देशन र आग्रहका बाबजुद अपेक्षित सुधार नभएपछि मन्त्रालयले स्थलगत अनुगमन गरी तत्काल उद्धारको प्रक्रिया अघि बढाएको जनाएको छ। पछिल्लो समय स्थानीय सरोकारवाला, विभिन्न व्यक्तिहरू तथा बालगृहका केही कर्मचारीबाट समेत त्यहाँको अवस्थाबारे भिडियोहरू मन्त्रालयमा प्राप्त भएका थिए। ती भिडियोमा भवनभित्र पानी जमेको, सरसफाइको अवस्था अत्यन्त दयनीय रहेको तथा महामारी फैलिन सक्ने जोखिम रहेको देखिएको थियो। केही कर्मचारीले सामाजिक सञ्जालमार्फत पनि बालगृहको वास्तविक अवस्था सार्वजनिक गरेका थिए ।
यसैका आधारमा मन्त्रालयले बाल हेल्पलाइन (१०४) को समन्वयमा पहिलो चरणमा २ वर्षभन्दा कम उमेरका २० जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो। उद्धार गरिएका बालबालिकामध्ये १२ जना बालक र ८ जना बालिका रहेका छन्। उनीहरूको संरक्षण, स्वास्थ्य परीक्षण, आवश्यक हेरचाह तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले घटनासम्बन्धी आवश्यक कागजी प्रक्रिया तथा कानुनी कार्य अघि बढाइसकेको जनाएको छ। साथै, बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी बाँकी बालबालिकाको अवस्था पनि मूल्याङ्कन गर्दै आवश्यक निर्णय र अनुगमनलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ।
१२- फिफा विश्वकप फुटबलको फाइनलअघि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आफ्ना टोलीका खेलाडी र समर्थकलाई लक्षित गर्दै भावुक सन्देश सार्वजनिक गरेका छन् । स्पेनसँगको उपाधि भिडन्तअघि उनले सामाजिक सञ्जालमार्फत टोलीसँग बिताएका अविस्मरणीय क्षण नै आफ्नो जीवनको सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन् । मेसीले अर्जेन्टिना टोली र सहयोगी सदस्यहरूसँगको सामूहिक तस्बिर साझा गर्दै वर्षौँको यात्रामा उपाधिभन्दा पनि टोलीसँग बिताएका हरेक पल, कठिन समयमा एकअर्कालाई दिएको साथ र साझा संघर्ष आफ्नो लागि सबैभन्दा अमूल्य रहेको उल्लेख गरेका छन् ।
उनले प्रशिक्षक, खेलाडी तथा टोलीसँग आबद्ध सबै सदस्यप्रति आभार व्यक्त गर्दै नतिजा जे आए पनि अर्जेन्टिनाले विश्व फुटबलमा कसैले मेटाउन नसक्ने इतिहास लेखिसकेको बताएका छन् । सन्देशको अन्त्यमा उनले ‘आऊ अर्जेन्टिना’ भन्दै टोलीलाई हौसला दिएका छन् । उनले भनेका छन्- ‘यी सबै वर्षहरूमा सबैभन्दा सुन्दर कुरा केवल उपाधिहरू जित्नु मात्रै थिएन, त्यो सम्पूर्ण यात्रा थियो । यो समूहसँग हरेक दिन बिताउनु, सँगै प्रतिस्पर्धा गर्नु, कठिन समयमा एकअर्कालाई उठाउन साथ दिनु र यात्राको हरेक क्षणको आनन्द लिनु नै सबैभन्दा विशेष रह्यो । मेरा प्रत्येक सहकर्मी खेलाडी, प्रशिक्षक टोली तथा यो राष्ट्रिय टोलीलाई सधैँ एउटा परिवारका रूपमा अघि बढाउन दिनहुँ समर्पित भएर काम गर्ने सबैप्रति हार्दिक धन्यवाद
। भोलि जे भए पनि, यो समूहले यस्तो इतिहास लेखिसकेको छ, जसलाई हामी कहिल्यै बिर्सने छैनौँ र कसैले पनि मेटाउन सक्ने छैन ।’ मेसीको सन्देशलाई उनको अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्तिम अध्यायतर्फको संकेतका रूपमा पनि हेरिएको छ । फिफा विश्वकप २०२६ को फाइनल उनको अन्तिम विश्वकप खेल हुन सक्ने व्यापक अनुमान गरिएको छ भने यससँगै उनले अन्तर्राष्ट्रिय फुटबलबाट पनि विश्राम लिन सक्ने चर्चा चलिरहेको छ । यद्यपि, उनले आफ्नो भविष्यबारे कुनै प्रतिक्रिया दिएका छैनन् । उनले अहिले आफ्नो सम्पूर्ण ध्यान फाइनल खेलमा केन्द्रित रहेको बताउँदै इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनल जितले अर्जेन्टिनाका समर्थकलाई खुसी दिने अवसर मिलेको उल्लेख गरेका छन् । मेसी व्यक्तिगत उपलब्धिको दौडमा पनि छन् । सर्वाधिक गोलकर्तालाई प्रदान गरिने सम्मानका लागि उनको प्रतिस्पर्धा जारी रहे पनि उनको मुख्य लक्ष्य अर्जेन्टिनालाई अर्को ऐतिहासिक विश्वकप उपाधि दिलाउनु रहेको जनाइएको छ ।
१३- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले अहिलेको राजनीतिक परिस्थितिमा अपवित्र साँठगाँठमा नलागी सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्नुपर्ने बताएका छन् । आइतबार सार्वजनिक गरेको आफ्नो धारणा मार्फत उनले नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठनपछि मुलुकका ज्वलन्त समस्या समाधान हुने जनअपेक्षा विपरीत राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, नागरिक अधिकार, सूचना प्राप्त गर्ने हक, छिमेकी मुलुकसँगको सम्बन्ध तथा राज्यका विभिन्न निकायबीचको सम्बन्धमा अस्थिरता बढ्दै गएको दाबी गरेका छन् ।
खनालले देशमा विदेशी हस्तक्षेप र आन्तरिक अव्यवस्थाका चुनौती बढिरहेको उल्लेख गर्दै यस्ता परिस्थितिविरुद्ध देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी तथा प्रगतिशील शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले विशेषगरी सम्पूर्ण वामपन्थी शक्तिबीच आपसी आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर एकताको पहल हुनुपर्ने बताएका छन् । उनले विगतमा वामपन्थी शक्तिहरूले नीतिविहीन र वर्गीय दृष्टिकोणविहीन रूपमा दक्षिणपन्थी शक्तिसँग सहकार्य गर्दै आएको टिप्पणी गर्दै आफ्नो पार्टीले पनि त्यही गल्ती दोहोर्याउँदै आएको स्वीकार गरेका छन्। अहिले पनि त्यही प्रवृत्ति दोहोरिने खतरा रहेको भन्दै उनले यसले कम्युनिष्ट आन्दोलनको प्रतिष्ठामा थप आँच पुग्ने चेतावनी दिएका छन् ।
खनालले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे निर्णय गर्नुअघि कम्तीमा केन्द्रीय समन्वय समितिको बैठक बोलाएर विस्तृत छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले क्रान्तिकारी उद्देश्य र वर्गीय दृष्टिकोणलाई केन्द्रमा राखेर मात्रै प्रदेशसभामा सरकार गठनसम्बन्धी नीति तय गर्नुपर्ने र पार्टीलाई दक्षिणपन्थी वर्गीय सम्झौतावादतर्फ जानबाट रोक्नुपर्ने बताएका छन् । उनले केही नेताको पदलोलुपता र व्यक्तिगत स्वार्थका लागि हुने राजनीतिक साँठगाँठ रोक्न आग्रह गर्दै आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् । खनालले अहिलेको समय राजनीतिक साँठगाँठ गर्ने नभई सही कार्यदिशाका आधारमा कम्युनिष्ट पार्टीको पुनर्गठन र रूपान्तरण गर्ने बेला भएको बताएका छन् ।
१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको १९ सयले बढेर तोलाको २ लाख ८४ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ८२ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर तोलाको ४२४० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४२०० मा कारोबार भएको थियो ।
१५- नेपाली कांग्रेसका सभापति गगन थापाले प्रमुख तीन दल मिलेर प्रदेशमा सरकार नबनाउने स्पष्ट गरेका छन् । आइतबार कृष्णप्रसाद भट्टराईको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै सभापति थापा एमाले, कांग्रेस र नेकपाबीच प्रदेशमा गठबन्धन नबन्ने स्पष्ट गरेका हुन् । परिणाम के हुन्छ मलाई थाहा छैन तर सैद्धान्तिक रुपमा हिजो हामीले गल्ति गर्यौं अब काँग्रेसले गल्ति गर्दैन । अहिले प्रदेशमा तिन दल मिलेर सरकार बनाउनु पर्ने सुझाव आइरहेको छ । काँग्रेसले त्यसो गर्दैन । तीन दल मिल्दा प्रदेश प्रतिपक्ष विहिन हुन्छ ।’
उनले एउटासँग चुनावमा गठबन्धन गरेर अर्कोसँग सत्ता सञ्चालन गरेकाले पनि कांग्रेसले ठूलो मूल्य चुकाएको बताए । उनले कांग्रेसले प्रदेशमा कुनै कम्प्रमाइज नगर्ने बताए । उनले अब कांग्रेसका नेताहरुले सोच बदलेर अगाडि बढ्नुपर्ने बताए । अहिलेको काँग्रेसको नेतृत्वले बदल्ने भनेको सोच्ने तरिका हो भन्दै मुस्किल समयमा विपी कोइराला, गणेशमान र किसुनजीले पार्टी चलाएको जस्तो गरि पार्टीलाई अगाडी बढाउने बताए ।
१६- इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकाले हालै भएको शान्ति सम्झौताको उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरको कुनै विश्वसनीयता नरहेको बताएका छन् । राष्ट्रका नाममा जारी सन्देशमा उनले अमेरिकाले सम्झौता तोडेर आफ्नो वास्तविक चरित्र उजागर गरेको दाबी गरेका छन् । उनका अनुसार अमेरिकाको व्यवहार झुट, अविश्वसनीय र अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत रहेको अर्को प्रमाणका रूपमा देखिएको छ ।
खामेनीले अमेरिकाले युद्ध भड्काउने प्रयास जारी राखे त्यसको गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् । उनले अमेरिकी आक्रमण निरन्तर भए इरान र उसका सहयोगी शक्तिले अमेरिकालाई कहिल्यै नबिर्सने गरी जवाफ दिने बताएका छन् । जुन १८ मा इरानका राष्ट्रपति मसुद पेजेशकियान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको शान्ति सम्झौताअनुसार दुवै देशले ६० दिनभित्र अन्तिम सम्झौताका लागि वार्ता गर्ने सहमति गरेका थिए। तर पछिल्ला घटनाक्रमसँगै दुवै देशबीचको तनाव फेरि चुलिएको छ । यता इरानका कानुनी तथा अन्तर्राष्ट्रिय मामिला हेर्ने उपविदेशमन्त्री काजेम गरिबाबादीले इरानले उक्त सम्झौताअन्तर्गतका आफ्ना सबै दायित्व कार्यान्वयन गर्न रोकिएको घोषणा गरेका छन् । सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अमेरिकाले आफ्ना सबै प्रतिबद्धता तोडेको आरोप लगाउँदै अब वार्ताको सम्भावना समाप्त भएको र इरानको सम्पूर्ण ध्यान राष्ट्रिय सुरक्षामा केन्द्रित रहेको बताएका छन् ।
उनले अमेरिकी आक्रमणको कडा जवाफ दिइसकिएको दाबी गर्दै अमेरिका थप तनाव बढाउने बाटो छाडेर विवेकपूर्ण निर्णय गर्नुपर्ने बताएका छन् । पछिल्लो एक सातामा अमेरिकाले इरानका दक्षिणी क्षेत्रमा रहेका सैन्य अड्डा र पूर्वाधारमा पटक–पटक हवाई आक्रमण गरेको छ। अमेरिकाले ती आक्रमण होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने व्यापारिक जहाजको सुरक्षाका लागि गरिएको जनाएको छ । यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रका केही देश र जोर्डनस्थित अमेरिकी सैन्य अड्डाहरूलाई क्षेप्यास्त्र र मानवरहित विमानमार्फत आक्रमण गरेको जनाएको छ। शनिबार कुवेत र बहराइनले आफ्ना हवाई प्रतिरक्षा प्रणालीले इरानी आक्रमणलाई निष्क्रिय पारेको बताएका छन्। ती आक्रमणका कारण कुवेतको एक प्रमुख तेल केन्द्र तथा विद्युत् उत्पादन र समुद्री पानी प्रशोधन केन्द्रमा क्षति पुगेको जनाइएको छ।
१७- भारतको मौसम विभागले खराब मौसमको चेतावनी जारी गरेपछि अमरनाथ यात्रा आइतबारदेखि अस्थायी रूपमा स्थगित गरिएको छ । जम्मु–कश्मीरको सूचना तथा जनसम्पर्क विभागले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको हो। विभागका अनुसार यो निर्णय पहलगाम र बालटाल दुवै मार्गमा लागू हुनेछ ।
खराब मौसमको चेतावनीलाई मध्यनजर गर्दै साउन ३ गते (जुलाई १९, २०२६) जम्मुबाट कश्मीरतर्फ कुनै पनि नयाँ तीर्थयात्रीको समूहलाई प्रस्थान गर्न अनुमति नदिइने बताइएको छ । तीर्थयात्रीहरूलाई जम्मु, उधमपुर र रामबनमा तोकिएका विश्रामस्थलमै बस्न तथा प्रशासनको अर्को सूचना नआएसम्म प्रतीक्षा गर्न आग्रह गरिएको छ । सूचना तथा जनसम्पर्क विभागका अनुसार हालसम्म अमरनाथ यात्राका क्रममा तीन लाख ७० हजारभन्दा बढी तीर्थयात्रीले पवित्र गुफामा पुगेर दर्शन गरिसकेका छन्।
१८- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकारले एकैपटक धेरै काम अघि बढाउनुभन्दा देशका प्रमुख समस्या समाधानमा केन्द्रित हुन सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले एकैचोटि धेरै लक्ष्य पछ्याउँदा कुनै पनि लक्ष्य प्रभावकारी रूपमा हासिल गर्न नसकिने बताएका छन् । उनले सरकारलाई प्राथमिकता स्पष्ट बनाउन आग्रह गर्दै भनेका छन्- ‘एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि मर्दैन, ठूलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ ।’ उनले जनजी विद्रोहको पृष्ठभूमिमा ठूलो जनअपेक्षासहित सत्तामा आएको नयाँ सरकारले अहिलेका लागि सुशासन र समृद्धिलाई नै मुख्य लक्ष्य बनाउनुपर्ने उल्लेख गरेका छन् । डा. भट्टराईले विशेषगरी देशभित्रै प्रत्येक वर्ष ८ लाखदेखि १० लाखसम्म उत्पादनमूलक रोजगारी सिर्जना गर्ने विषयलाई सरकारको पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । त्यसका लागि आवश्यक सबै नीति, योजना र कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न उनले सरकारलाई सुझाव दिएका छन् ।
१९- जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको ब्यालिस्टिक क्षेप्यास्त्र र मानवविहीन हवाई आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक अझै बेपत्ता रहेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ । अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आक्रमणमा घाइते भएका चार सैनिकलाई उपचारका लागि जोर्डनका अस्पतालमा भर्ना गरिएको थियो ।
उनीहरू उपचारपछि अस्पतालबाट फर्किसकेका छन् भने सामान्य घाइते भएका अन्य सैनिक पुनः ड्युटीमा खटिएका छन् । मृत्यु हुने सैनिकको परिचय र घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले शनिबार राति लगातार आठौँ रात पनि इरानमाथि हवाई आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।
अमेरिकाले होर्मुज जलडमरूमध्य क्षेत्रमा व्यावसायिक जलयातायातलाई लक्षित गर्न सक्ने इरानको क्षमता कमजोर बनाउने र जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इरानी बललाई कारबाही गर्ने उद्देश्यले आक्रमण गरिएको जनाएको छ । पछिल्लो एक सातादेखि अमेरिका र इरानबीचको तनाव पुनः चर्किएको छ। अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी पुनः लागू गरेपछि इरानले होर्मुज जलडमरूमध्य बन्द भएको घोषणा गरेको थियो। प्रारम्भिक युद्धविराम लागू भएको एक महिनाभन्दा कम समयमै दुवै पक्षबीचको सहमति भंग भएपछि सैन्य गतिविधि तीव्र बनेको हो।
२०- फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि भएको अत्यन्तै रोमाञ्चक खेलमा इंग्ल्याण्डले फ्रान्सलाई ६-४ गोल अन्तरले हराउँदै तेस्रो स्थान हासिल गरेको छ । दुवै टोलीले खुला आक्रमणात्मक खेल प्रदर्शन गर्दा खेल विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल भएको तेस्रो स्थानको प्रतिस्पर्धा बनेको हो । इंग्ल्याण्डका बुकायो साकाले ह्याट्रिक पूरा गर्दै टोलीको जितमा निर्णायक भूमिका खेलेका थिए । विश्वकपको नकआउट चरणमा ह्याट्रिक गर्ने उनी इंग्ल्याण्डका दोस्रो खेलाडी बने ।
यसअघि सन् १९६६ को फाइनलमा सर जियोफ हर्स्टले यस्तो उपलब्धि हासिल गरेका थिए । खेलको सुरुआती २० मिनेटमै डेक्लन राइस र एज्री कोन्साले गोल गर्दै इंग्ल्याण्डलाई बलियो अवस्थामा पुर्याएका थिए । त्यसपछि साकाले दुई गोल थपेपछि पहिलो हाफ सकिँदा इंग्ल्याण्ड ४-० ले अगाडि थियो । फ्रान्स सन् १९३० यता पहिलो पटक पहिलो हाफमै चार गोलले पछाडि परेको थियो । दोस्रो हाफमा भने खेलको लय पूर्ण रूपमा बदलियो । फ्रान्सका किलियन एम्बाप्पेले दुई तथा ब्राड्ली बारकोलाले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । एम्बाप्पेले यस विश्वकपमा आफ्नो गोल संख्या २२ पुर्याउँदै सर्वाधिक गोलकर्ता बनेका छन् भने गोल्डेन बुटको दौडमा पनि अग्रता कायम गरेका छन् । तर ८७औँ मिनेटमा पाएको पेनाल्टीलाई साकाले गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र इंग्ल्याण्डलाई पुनः दुई गोलको अग्रता दिलाए ।
इन्जुरी समयको छैटौँ मिनेटमा उस्मान डेम्बेलेले गोल गर्दै अन्तर घटाए पनि खेलको ९८औँ मिनेटमा जुड बेलिङ्घमले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इंग्ल्याण्डको जित सुनिश्चित गरे । विश्वकप इतिहासमा फ्रान्सले एउटै खेलमा पहिलो पटक ६ गोल व्यहोरेको हो । यस्तै, इंग्ल्याण्डले सन् १९६६ मा विश्वकप जितेपछि पहिलो पटक पुरुष विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो । विदेशी भूमिमा भने यो इंग्ल्याण्डको अहिलेसम्मकै उत्कृष्ट विश्वकप नतिजा बनेको छ । यस विश्वकपमा बेलिङ्घमले सात गोल गर्दै एउटै संस्करणमा इंग्ल्याण्डका कुनै पनि पुरुष खेलाडीले गरेको सर्वाधिक गोलको कीर्तिमान पनि बनाए । खेलपछि पूर्व इंग्ल्याण्ड खेलाडीहरूले दुवै टोलीको आक्रमणात्मक खेलको प्रशंसा गर्दै यसलाई प्रतियोगिताकै उत्कृष्ट खेलमध्ये एक भएको प्रतिक्रिया दिएका छन् ।