काठमाडौं । ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’– दुई फरक गीतका यी अंश सुन्नेबित्तिकै धेरैजसोको मानसपटलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको चित्र आउँछ । वि.स. २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनमार्फत उच्च जनमतसहित ‘र्यापर’बाट एक्कासि ‘मेयर’ बनेका बालेन आफ्नो राजनीतिक यात्राको सुरूआतदेखि नै अत्यधिक चर्चा र चासोमा रहँदै आएका पात्र हुन् । नेपालका ७५३ स्थानीय तहमध्ये कुनै पनि स्थानीय तहको प्रमुखको विषयमा त्यति चर्चा र चासो हुने गरेको छैन, जति बालेनको हुने गरेको छ ।
स्थानीय तहको प्रमुख भए पनि एक हिसाबले बालेन नेपाली राजनीतिको केन्द्रीय पात्रजस्तै बनेका छन् । नागरिक तहमा उनको प्रभाव निकै ठूलो छ । उनले सामाजिक सञ्जालमा लेख्ने एउटा स्ट्याटसकै भरमा ‘आगो लगाउन वा निभाउन’ ठूलो भीड तयार हुन सक्छ । तर, बालेन पछिल्लो समय आफ्नै कारणले आलोचनाको पात्र बन्दै गएका छन् । उनलाई आफ्नै बोली र व्यवहार गलपासो बन्न थालेको छ । साथै, उनले आफ्नो शक्तिको सही सदुपयोग गर्न नसकिरहेको पनि देखिन्छ । यसबाट उनको ‘राजनीतिक अपरिपक्वता’ उजागर हुँदै गएको छ ।
देशमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनले सत्तापलट नै गर्यो । गोली लागेर दर्जनौं निहत्था युवाहरूको ज्यान गएको, सयौं घाइते भएको तथा देशका प्रमुख प्रशासनिक केन्द्रहरू ध्वस्त पारिएको आन्दोलनपछिको सङ्क्रमणकालीन परिस्थितिमा बालेनले देशको नेतृत्व लिऊन् भन्ने जेन जीहरूको चाहना थियो । उनीहरूलाई पूर्ण विश्वास थियो– बालेनले त्यसै गर्नेछन् । तर, नतिजा अपेक्षाविपरीत रह्यो ।
आन्दोलनलाई प्रोत्साहन गरेका, देशको सत्तापलट भएपछि सार्वजनिक सम्पत्तिमा थप क्षति गर्न नहुने भन्दै आन्दोलनकारीलाई घर फर्कन आग्रह गरेका बालेन एक्कासि गायब भए । ‘बालेन आऊ, देशको नेतृत्व लिइदेऊ’ भन्दै गुहारेका युवाहरू उनीसँग रुष्ट भए । जेन जीहरूले बालेनलाई यदि तिमी अहिले नेतृत्व लिँदैनौ भने कहिल्यै चाहिँदैन समेत भनेका थिए । तर, बालेनले त्यसताका जेन जीले गरेको फोनसमेत उठाएनन् । जसपछि उनको लोकप्रियतामा निकै गिरावट आएको छ । यसबीच बालेनको बढ्दै गरेको ‘अलोकप्रियता’मा अस्ति शनिबारको उनको एउटा फेसबुक स्ट्याटसले ‘आगोमा घिउ’ थप्ने काम गरेको छ । कतिपयले त उक्त स्ट्याटसलाई बालेनको ‘राजनीतिक पतन’को रूपमा समेत हेरेका छन् ।
काठमाडौं महानगरपालिका केवल एउटा स्थानीय तह मात्र होइन । यो सिङ्गो देशको राजधानी रहेको नगरसमेत हो । त्यसैले यो महानगरपालिका सधैं अन्य स्थानीय तहहरूको तुलनामा बढी नै चासो र नजरमा रहन्छ । यसकारण यो महानगरपालिकाको नेतृत्वकर्ताले बढीभन्दा बढी पदीय मर्यादा प्रदर्शन गरेर अन्य जनप्रतिनिधिलाई समेत अनुकरणका लागि प्रोत्साहन गर्नुपर्ने हो । तर, मेयर बालेनको शैली यसको ठीक विपरीत छ ।

जनप्रतिनिधि भएका हिसाबले उनले हरेक विषयमा बोल्दा वा लेख्दा सभ्य शैली अपाउनुपर्ने हो । तर, उनी अधिकांश बोलाइ वा लेखाइमा आक्रामक शैली अपनाउने गर्छन्, उनका र्याप गीतमा जस्तै । शनिबार राति बालेनले लेखेको फेबसुक स्ट्याटस त झनै अनपेक्षित छ । उनले उक्त स्ट्याटसमार्फत नेपालका प्रमुख दलहरूसँगै निकट दुई छिमेकी देश भारत र चीन तथा पश्चिमा शक्तिराष्ट्र अमेरिकासम्मलाई गाली गरेका छन् । बालेनले आफूलाई जनप्रतिनिधिभन्दा बढी एक आक्रोशित र उत्तेजित र्यापरकै जस्तो भूमिकामा प्रस्तुत गरिरहेका छन् । बालेनले बुझ्न जरूरी छ– ‘र्याप’मा गालीको भाषा चल्छ तर राजनीतिमा सभ्य र शिष्ट शैली खोजिन्छ । ‘र्याप ब्याटल’मा विपक्षीलाई शत्रुजस्ताे सकेसम्म कठाेर र तुच्छ शब्दहरू प्रयोग गरेर कमजोर देखाउँदै हराउने चेष्टा गरिन्छ, तर राजनीतिमा हारेकाहरूलाई पनि सही ढङ्गले समेटेर अघि बढ्नुपर्छ भने गाली पनि ‘पाच्य’ भाषामा गर्नुपर्छ । याे नै वास्तविक ‘राजनीतिक विजय’ हाे ।

गाली वा तालीले देश बन्दैन

नेपालमा गाली र ताली दुवै सामाजिक संस्कारझैं स्थापित छन् । कोही मन परे उसले गल्ती गरे पनि ताली पाउँछ भने कोही मन नपरे उसले सही गरे पनि गाली खान्छ । यो प्रवृत्ति अब सामान्य रहेन; सामाजिक विकृतिकै रूपमा विकास भइसकेको छ । तर, हामी सबैले बुझ्न जरूरी छ– कसैलाई गाली गर्दैमा वा कसैको पक्षमा ताली पिट्दैमा देश बन्ने होइन । यदि त्यस्तो हुन्थ्यो भने अहिले नेपालको अवस्था अर्कै हुने थियो । त्यसैले मेयर बालेनले अरूलाई गाली गर्ने प्रवृत्तिलाई प्रोत्साहन दिने नभई आफूमा सुधारको शैली अपनाएर अनुकरणीय बन्ने प्रयास गर्नु उत्तम हुनेछ । जनप्रतिनिधिले सबैलाई सम्झाउँदै बुझाउँदै समेट्ने प्रयास गर्ने हो, नकि घृणा फैलाएर समाज विभाजनलाई प्रोत्साहन दिने ।

बालेनले बुझेको राजनीति तर नबुझेको कूटनीति

बालेनको नजरमा देशका सबै प्रमुख राजनीतिक दलहरू गलत हुन् । उनले आफ्नो शनिबारको फेसबुक स्ट्याटसमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई अमर्यादित शब्दसहित गाली गरेका छन् । सर्वसाधारणलाई जस्तै बालेनलाई पनि नयाँ–पुराना सबै दलहरू निकम्मा लागेको देखिन्छ । तर, यसमा सत्यता छ पनि र छैन पनि । अर्थात् यो बीचको विषय हो । देश बन्नु र बिग्रनु दुवैमा दलहरूको भूमिका नभएको होइन । दलहरूले देश बनाउने हो, बिगार्ने होइन । यसमा बालेनको आक्रोशलाई ठीकै मान्न सकिन्छ । तर, अमर्यादित गालीको भाषा अशोभनीयसँगै अस्वीकार्य विषय हो ।
अर्कातिर आन्तरिक राजनीतिजत्तिकै महत्त्वपूर्ण विषय हो– अन्तर्राष्ट्रिय सम्बन्ध अर्थात् कूटनीति । विवेकपूर्ण, व्यावहारिक र सन्तुलित कूटनीतिको प्रयोगले देशलाई सुरक्षितका साथै आर्थिक, सांस्कृतिक र राजनीतिक दृष्टिले पनि सशक्त बनाउँछ । त्यसैले कूटनीतिलाई देशको सौम्य शक्ति (सफ्ट पावर) पनि भनिन्छ । कुनै एक देशले अर्को देशसँग राख्ने कूटनीतिक सम्बन्ध कस्तो छ, त्यस आधारमा पनि देशको अवस्था कस्तो छ भन्ने धेरै कुरा थाहा लाग्छ । हरेक देशसँग सन्तुलित सम्बन्ध राख्न सक्नु कूटनीतिक सफलता हो । यसले परस्परमा सहकार्य बढाई दुवै पक्षलाई लाभ हुने वातावरण सिर्जना गर्छ ।
तर, अन्तर्राष्ट्रिय सम्बन्धको सन्तुलनमा ध्यान नदिएर उनीहरूलाई चिढ्याउनेतर्फ लाग्दा आफैलाई नोक्सानी हुन्छ । यदि कूटनीतिक सम्बन्धमा दरार आएको भए त्यसको समाधान पनि कूटनीतिक तवरबाटै खोजिनुपर्छ । अहिले मेयर बालेनले सामान्य आक्रोशमा जसरी अन्य देशहरूलाई अमर्यादित शब्दसहित गाली गरेका छन्, त्यसले केवल उनलाई मात्र नभई सिङ्गो देशलाई क्षति पुग्न सक्छ । अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने अवसरसमेत पाएका बालेनले विश्वशक्ति राष्ट्रहरूलाई आफ्नो क्षणिक सनकका भरमा यस्तो अपाच्य गाली गर्नु अशोभनीय मात्रै होइन, गम्भीर चिन्ताको विषय हो । आम सर्वसाधारणले यस्तो गरेको भए त्यो यति ठूलो विषय नबन्न सक्थ्यो । तर, बालेन काठमाडौं महानगरपालिकाको मेयरका साथै सिङ्गो देश र अन्तर्राष्ट्रिय जगतले समेत नियालिरहेका पात्र हुनाले उनले कुनै पनि विषयमा बोल्दा सभ्य र शिष्ट शैली अपनाउन जरूरी छ ।
रास्वपाबारे स्पष्ट भयो बालेनको धारणा
आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिको बालेनको दृष्टिकोण अन्ततः स्पष्ट भएको छ । यसअघि बालेन रास्वपाबारे मौन रहँदै आएका थिए । त्यसैले यो पार्टीप्रतिको बालेनको धारणा के हो भन्ने स्पष्ट नहुँदा उनको मौन समर्थन हुन सक्ने आकलन हुँदै आएको थियो । यसका साथै बालेन रास्वपामै जोडिने अनुमान गरिँदै आएको थियो । तर, शनिबार फेसबुक स्ट्याटसमार्फत उनले रास्वपालाई पनि धिक्कारेसँगै यस पार्टीप्रति उनको दृष्टिकोण सकारात्मक नरहेको स्पष्ट भएको छ ।
पुरानै शैलीको निरन्तरता
आक्रामक अभिव्यक्ति दिनु बालेनको पुरानै शैली हो । उनले यसअघि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले उनकी पत्नी सबिना काफ्ले सवार गाडी रोक्दा सिंहदरबार जलाइदिने, आफ्नो व्यक्तिगत हठले महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतबारे विवाद उत्पन्न भई कर्मचारीहरूको तलब रोकिँदा केन्द्रीय सरकारलाई दोष दिँदै सबैलाई टुकुचा खोलामा गाडिदिने जस्ता आपित्तजनक अभिव्यक्ति दिएका थिए । नेपालमा हालै भएको जेन जी आन्दोलनको दोस्रो दिन अर्थात् गत भदौ २४ गते प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । यसमा बालेनले दिएको विगतको अभिव्यक्तिले पनि प्रोत्साहन गरेको कतिपयको आशङ्का छ ।
हुन पनि बालेन धेरैका आदर्श पात्र हुनाले उनका समर्थकले सिंहदरबार जलाइनुपर्ने कुरा रहेछ भनेर जलाएका हुन सक्ने शङ्काको सुविधा अनुसन्धानले स्पष्ट नपार्दासम्म प्राप्त भइरहने छ । आखिर कुन मनसायले एक जनप्रतिनिधिले खुल्लमखुल्ला सिंहदरबार जलाइदिने र सरकारी अधिकारीलाई खाेलामा गाडिदिने जस्ता आपत्तिजनक अभिव्यक्ति दिन सक्छ ? यो केवल एक व्यक्तिको सामान्य आक्रोश होइन, जिम्मेवार हुनुपर्ने एक जनप्रतिनिधिले आफूलाई देशको विधि र कानुनभन्दा माथि ठानेको हो । म केही पनि मान्दिनँ, मैले जे भन्छु त्यही हुनुपर्छ भनेको हो ।
हो, हरेक मानिसमा आवेग–संवेग हुन्छ, यो प्राकृतिक कुरा हो । तर, तिनलाई सही ढङ्गले नियन्त्रण गर्नु मानिसको बुद्धिमत्ता हो । मनमा जे आउँछ त्यही अभिव्यक्त गर्ने भन्ने हुँदैन । यसबारे जनप्रतिनिधिले त झनै सचेत हुनुपर्छ । तर, बालेनले एउटै प्रवृत्ति बारम्बार दोहोर्याउनुले उनको वास्तविक चरित्र नै त्यही रहेको पुष्टि गरिरहेको छ ।
बालेनको दृष्टिदोष
बालेनमा एउटा गम्भीर दृष्टिदोष पनि देखिन्छ । उनी आफू मात्रै सही हुँ र अरू जम्मै गलत हुन् भन्ने विचारले ग्रसित रहेको देखिन्छ । उनलाई लाग्छ कि देश बनाउन उनी एक्लै काफी छन्, जुन सरासर गलत धारणा हो । देश सबै देशवासीको आपसी सहकार्य र समन्वयले मात्रै बन्ने कुरा हो ।
अर्कातिर ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्दै आफूलाई गरिब–दुःखीको प्रतिनिधि देखाउन खोज्ने बालेनले सडक व्यापारीहरूमाथि गरेको अमानवीय व्यवहार पनि स्मरणीय छ । सुकुम्वासी समस्या समाधानका लागि भन्दै न्यूनतम मानवीय मर्यादासमेत नराखेर उनीहरूलाई व्यवस्थापन नगरी जबरजस्ती डोजर चलाउनु पनि बालेनको असंवेदनशीलताको उदाहरण हो । गरिब–दुःखीलाई जबरजस्ती धपाएर सहर व्यवस्थित बन्छ, उनीहरूलाई व्यवस्थापन गर्न आवश्यक नै छैन भन्ने मानसिकता बालेनमा देखिन्छ ।
बालेनको नेतृत्वमा काठमाडौं महानगरपालिकामा केही प्रशंसनीय कामहरू नभएका पनि होइनन् । तर, बालेनले आफूमा अधिनायकवादी चरित्र रहेको पटक–पटक आफैले पुष्टि गरिसकेका छन् । आफूलाई सबैभन्दा माथि ठान्नु नै उनको अधिनायकवादी चरित्रको स्पष्ट छनक हो । यसलाई बुझ्न हालसालैको एक घटनालाई लिन सकिन्छ । केही दिनअघि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बालेनले आफूहरूको कुरै नसुन्ने, उनका कुरा मात्रै सुनिदिनुपर्ने बताएकी थिइन् । यसको अर्थ बालेनलाई मैले कसैको कुरा सुन्न जरूरी छैन, म नै सर्वेसर्वा हुँ भन्ने लाग्ने गरेको देखिन्छ ।
बालेनले बुझ्न जरूरी छ– देशले कुनै उग्र राष्ट्रवादी वा नयाँ अधिनायकवादी खोजेको होइन, जनताको सच्चा र परिपक्व प्रतिनिधि खोजेको हो ।
शून्य जवाफदेहिता
बालेनको अर्को कमजोरी जवाफदेही नहुनु हो । काठमाडौं महानगरपालिकाका मतदाताले वर्षौंदेखिको ‘दलीय सिन्डिकेट’ तोड्दै स्वतन्त्र उम्मेदवार बालेनलाई आफ्नो प्रतिनिधिका रूपमा चुनेका थिए । यसको अर्थ बालेनमा मतदाताहरूको निकै ठूलो विश्वास थियो, जुन उनलाई प्राप्त मतले पनि पुष्टि गरेकै कुरा हो । तर, बालेन न महानगरवासीको कुरा सुन्छन्, न त उनीहरूका प्रश्नको जवाफ नै दिन्छन् । उनी प्रश्नको सामना गर्न सक्दैनन् । बरु प्रश्नकर्तामाथि नै खनिन्छन् । जनप्रतिनिधि जहिल्यै प्रश्नको घेरामा हुन्छ र जवाफदेहिता उसको अनिवार्य शर्त हो । तर, बालेनले आफूलाई प्रश्नभन्दा माथि राख्न खोजेका छन्, जुन कुरामा महानगरवासीसँगै उनका अन्य समर्थकहरू पनि सन्तुष्ट छैनन् ।
FACEBOOK COMMENTS