काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बैंकिङ क्षेत्रलाई थप व्यवस्थित बनाउनका लागि बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको बताएका छन् ।
आज बिहीबार प्रतिनिधि सभामा बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा अर्थमन्त्री पुनले स्वार्थ बाझिने गरी बैंकर्स र व्यवसायी एकै खालको हुन नहुने विषय उठान भएकाले बैंकर्स र व्यवसायी छुट्याएर बैंकलाई थप व्यवस्थित गर्न खोजिएको बताएका हुन् ।
उनले यसका लागि अर्थमन्त्रालय, राष्ट्र बैंकको समन्वय र सरोकारवालाहरूको राय परामर्शमा विधेयकमा नयाँ व्यवस्था गरिएको जानकारी पनि दिए । उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विकसित वित्तीय प्रणाली, औजार, सुरक्षा र जोखिमका आधारमा वित्तीय संस्थाको प्रभावकारी व्यवस्था तथा नियमन गर्नका लागि ल्याएको बताए ।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण तथा प्रविधिमा आएको परिवर्तनलाई प्रयोग गर्न र संविधान अनुसार तीन तहका सरकारमा वित्तीय अधिकार क्षेत्र व्यवस्थित रूपले कार्यान्वयन गर्न प्रदेश सरकारहरूले प्रदेश बैंकहरू खोल्न सुरू गरेको बताए ।
‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विकसित वित्तीय प्रणाली, औजार, सुरक्षा र जोखिमका आधारमा वित्तीय संस्थाको प्रभावकारी व्यवस्था तथा नियमन गर्नको लागि बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० ल्याइएको हो,’ अर्थमन्त्री पुनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण तथा प्रविधिमा आएको परिवर्तनलाई प्रयोग गर्न र संविधान अनुसार तीन तहका सरकारमा वित्तीय अधिकार क्षेत्र व्यवस्थित रूपले कार्यान्वयन गर्न प्रदेश सरकारहरूले प्रदेश बैंकहरू खोल्न सुरू गरेका छन् । नेपालको समग्र बैंकिङ क्षेत्रको विश्वसनीयता अभिवृद्धि गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाई स्थायित्व कायम गर्न, बैंक तथा वित्तीय संस्थाहरूको स्थापना, सञ्चालन र व्यवस्थापन र नियमन गर्न विधेयक ल्याएका हौँ ।’
उनले नेपालको समग्र बैंकिङ क्षेत्रको विश्वसनीयता अभिवृद्धि गर्न,राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाई स्थायीत्व कायम गर्न, बैंक तथा वित्तीय संस्थाहरूको स्थापना, सञ्चालन र व्यवस्थापन र नियमन गर्न विधेयक ल्याएको पनि उल्लेख गरे ।
FACEBOOK COMMENTS