![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टी–स्टेटको फाइल खोल्न तयार हुनुहुन्छ भनि गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्नुभएको छ ।
आज बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले ७० बिगाहाको कमिसन खाएको भनेर आरोपित गरेको भन्दै सो उपर छानविन गर्न चुनौती दिएका हुन् ।
उनले गिरिबन्धुको अनुसन्धान गरेर काँग्रेसलाई दण्डित गर्न चुनौती दिँदै शर्माले भने, ‘म यहाँनिर गृहमन्त्रीजीलाई खोज्न चाहान्छु । सत्ता गठबन्धन दलको सबैभन्दा ठूलो अध्यक्षले कांग्रेसले बेचेर ७० बिगाहाको कमिशन खायो भनेर जे आरोप लगाउनुभएको छ । त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाई गिरिबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ?’
तर, केपी ओलीका सामु गृहमन्त्री बोलन पनि नसक्ने भन्दै शर्माले थपे, ‘म जान्दछु फाइल खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न । बोल्न सक्नुभएको भए शिक्षा मन्त्रीउपरको शब्द फिर्ता लिनुस् पूर्वप्रधानमन्त्रीज्यू उहाँले दमदार ढंगले भन्न सक्नुहुन्थ्यो । नम्रतापूर्वक पनि उहाँले भन्न सक्नुभएन ।’
विवाह कसले कोसँग गर्ने त्यो कुरा व्यक्तिको नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा भएको र अघिल्लो पुस्ताका कोही पनि अग्रज नेताहरुले पछिल्लो पुस्ताका जुनसुकै दलका हुन् उदाउँदै गरेको राजनीतिक नेतृत्वलाई निरुत्साहित गर्न नहुने धारणा पनि उनले व्यक्त गरेका छन् ।
बालेनबारे के भने ?
महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग केपी ओली भिडिरहेको भन्दै त्यसरी भिड्नुपरेमा उपप्रमुख अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझाव समेत दिए । उनले न्युरोडमा सडकपेटी बढाउनु जरुरी रहेको धारणा राख्दै प्रमुख बालेन्द्रले ठिक काम गरेको धारणा व्यक्त गरे ।
प्रमुख साहलाई काम गर्न दिनुपर्ने भन्दै उनले भने, ‘काठमाडौंको प्रमुखसँग कुनै कुरामा भिड्नुपर्यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि । त्यही तहमा भएका पार्टीका प्रतिनिधिलाई भन्दा हुन्छ नि । तिनले त्यहीँ भने भइगयो नि प्रमुख साप संयमले बोल्नुस् । जेल बसेका नेताहरुको सम्मान राखेर बोल्नुस् । यो तपाईको शैली बदल्नुस् । तर, आफैँ सुरिनु भयो बोल्न । यो प्रकरणमा म केवल यतिमात्रै भन्न चाहान्छु, संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्छ ।’
उनले न्यूरोडमा नागरिकका सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो । बालेनले जे गरेका थिए ठिक गरेका थिए । उनलाई त्यहाँ काम गर्न दिइनु पर्छ । संघले यसमा कुनैपनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्ने धारणा व्यक्त गरे ।
सन्दीप लामिछानेबारे के भने ?
त्यस्तै, महामन्त्री शर्माले अदालतले निर्दोष सावित गरेपछि पनि क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जान नपाएको भन्दै अमेरिका जान नपाउनुमा कहाँ कमजोरी भयो भनि परराष्ट्रमन्त्री र खेलकुदमन्त्रीसँग जवाफ माग गरे । उनले अदालतले गरेको फैसला सुसूचित गराएर भिसाको लागि वातावरण बनाउनुपर्नेमा सरकारले त्यसो गर्न नसकेको बताए ।
‘नेपाली क्रिकेट टिम यसबेला विश्वकपको मैदानमा छ । समग्र नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत तर्फबाट म हाम्रा उत्साही खेलाडीहरुलाई शुभकामना व्यक्त गर्न चाहन्छु । हिजो आरोप लागिरहेको बेला शीरमा मुद्दा बोकेर मैदानमा उत्रिनुहुन्न हामी कयौँले भन्यौँ । तर सम्मानित अदालतले निर्दोष साबित गरिसकेपछि यस बेलामा सन्दिप लामिछाने विश्वकपको मैदानमा हाम्रो प्रतिनिधित्व गरेर खेलिरहनुभएको अवस्था हुनुपथ्र्यो,’ शर्माले भने, ‘आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसुचित गरेर उनको भिसाको लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्दथ्यो । यसमा कमजोरी कहाँ रह्यो ? यो किन कमजोरी भयो ? खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारको यस बारेमा म सभामुख महोदयमार्फत ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले सहकारी छानविन विशेष संसदीय समितिले स्वविवेक र तथ्यमा आधारित भएर छानविन गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
‘बजेट माओवादीतिर ढल्केको’ आरोप लगाएका केपी ओलीलाई अर्थमन्त्री पुनले दिए यस्तो जवाफ (भिडिओ)
FACEBOOK COMMENTS