काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीहरूका सचिवालयसँग सम्बन्धित केही व्यक्तिमाथि अकुत सम्पत्ति आर्जनको आशंकामा अनुसन्धान अघि बढाएको छ।
अख्तियार उच्च स्रोतका अनुसार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’**की छोरी तथा सचिवालय सम्हाल्दै आएकी गंगा दाहालमाथि अनुसन्धान भइरहेको छ।
स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूको वैधानिक आयस्रोत सीमित देखिए पनि सम्पत्तिको परिमाण भने शंकास्पद देखिएको छ। वैधानिक आम्दानीको तुलनामा सम्पत्ति अस्वाभाविक रूपमा बढेको देखिएपछि अख्तियारले थप विवरण मागेर अनुसन्धान अगाडि बढाएको बताइएको छ।
अख्तियार स्रोतले उनीहरूले आफन्त तथा निकट व्यक्तिहरूको नाममा समेत सम्पत्ति लुकाएको हुन सक्ने आशंकामा विभिन्न कागजात संकलन र विश्लेषण गरिरहेको जनाएको छ। अनुसन्धान अहिले प्रारम्भिक चरणमै रहेकाले आवश्यक प्रमाण संकलनको काम जारी रहेको स्रोतको भनाइ छ।
भानु देउवाले लामो समयदेखि शेरबहादुर देउवाको सचिवालय सम्हाल्दै आएका छन्। देउवा प्रधानमन्त्री भएका विभिन्न कार्यकालमा पनि उनी स्वकीय सचिवको जिम्मेवारीमा रहेका थिए।
त्यसैगरी, केपी शर्मा ओली प्रधानमन्त्री रहेका तीनवटै कार्यकालमा राजेश बज्राचार्य स्वकीय सचिवको भूमिकामा थिए। हाल पनि उनले ओलीको सचिवालयको जिम्मेवारी सम्हालिरहेका छन्।
यस्तै, प्रचण्डका छोरा प्रकाश दाहालको निधनपछि उनकी कान्छी छोरी गंगा दाहालले सचिवालयको जिम्मेवारी सम्हाल्दै आएकी छन्।
यद्यपि, अख्तियारले यस विषयमा औपचारिक सार्वजनिक धारणा भने सार्वजनिक गरिसकेको छैन। अनुसन्धान जारी रहेकाले थप तथ्य र प्रमाणका आधारमा आगामी प्रक्रिया अघि बढाइने बताइएको छ।