काठमाडौं । आर्थिक शिथिलताका कारण मुलुकमा नयाँ लगानीको वातावरण नभएको चर्चा भइरहेका बेला उद्योगपति भवानी राणाले करोडौँको लगानीमा नयाँ उद्योग सञ्चालनमा ल्याएकी छिन् ।
उनले फर्चुना हेल्थकेयर प्रालिमार्फत ‘फर्चुना’ ब्राण्डमा सिरिन्ज उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएकी हुन् । नेपालले लगानी सम्मेलन गर्न लागेको पूर्वसन्ध्यामा लगानी बोर्डको सदस्य समेत रहेकी राणाले आफ्नो नेतृत्वमा सिरिन्ज उद्योग ‘फर्चुना’को शुभारम्भ गरेर सिथिल रहेको अर्थतन्त्रलाई चलयामान बनाउन मद्दत समेत पुर्याएकी छिन् ।
हिजो बिहीबार काठमाडौंस्थित होटेल याक एण्ड यतिमा एक विशेष कार्यक्रममार्फत उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उद्योगको औपचारिक उद्घाटन गरे । मन्त्री यादवले नैकापमा अवस्थित उद्योगको भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)की पूर्वध्यक्ष तथा फर्चुना हेल्थ केयर प्रालिकी अध्यक्ष भवानी राणाले नेपालमै अन्तर्राष्ट्रियस्तरको सिरिन्ज उत्पादन गरेर सिरिन्जको आयात घटाउने लक्ष्य राखिएको बताइन् ।
‘नेपालमा गत वर्ष ५७ करोड ८३ लाख रूपैयाँ भन्दा बढीको सिरिन्ज भित्रिएको थियो । यस्तो आयातित सिरिन्जहरूको गुणस्तरमा समेत प्रश्न उठ्ने गरेकोमा अब फर्चुनाले अन्तर्राष्ट्रिय स्तरका सिरिन्जहरू नेपालमै उत्पादन गरेर बजारमा पठाउन सुरु गरेको छ । यसले आयात घटाउनका साथै सिथिल अर्थतन्त्रलाइृ चलायमान बनाउन समेत मद्दत पुर्याउँछ,’ अध्यक्ष राणाले भनिन्, ‘कोभिड–१९ को समयमा बजारमा सिरिन्जको अभाव हुँदा सम्पूर्ण स्वास्थ्य क्षेत्रलाइ नै असर परेको थियो । यस किसिमको सिरिन्जहरू स्वदेशमै उत्पादन हुँदा आपतकालीन समयमा समेत काम गर्ने र देश विकासमा समेत टेवा पुग्ने विश्वास लिएका छौँ ।’
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले यस प्रकारको उद्योगको शुभराम्भमा साक्षी हुन पाउँदा खुसी लागेको बताए । उनले स्वास्थ्य क्षेत्रको सम्पूर्ण उपचार विधि सिरिन्जबिना पूर्ण नहुने र अहिले झण्डै १६ वटा मुलुकबाट सिरिन्जहरू आयात भइरहेको जानकारी दिए । फर्चुनाले उत्पादन थालेसँगै अब स्वदेशी उत्पादनले बजार ओगट्ने विश्वास उनले व्यक्त गरेका छन् । उनले नेपाली उद्योगहरूलाई सहुलियत तथा उत्पादनमा सहयोग गर्न औषधि व्यवस्था विभाग तयार रहेको पनि बताएका छन् ।
त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले फर्चुना उद्योगका सञ्चालकहरूलाई धन्यवाद ज्ञापन गर्दै निजी क्षेत्रलाई सरकारले छेकिरहेको बताए । स्वास्थ क्षेत्र नियमनको बहानामा डाक्टर र नर्सहरू समेत उत्पादन गर्नबाट देशलाई नै बञ्चित गरेको उनको भनाइ थियो । ‘नेपालमा हरेक क्षेत्रको विकास निजी क्षेत्रको सहकार्यले मात्र सम्भव भएको छ । निजी क्षेत्रले गरेको लगानीको फाइदा लगानीकर्तालाइ मात्र हुने भन्ने बुझाइ अहिले परिर्वतन हुँदै गएको र सरकारले पनि नीतिहरूमा एकरूपता ल्याउन पर्छ,’ अध्यक्ष ढकालले भने ।
कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले अबका दिनमा आफूले आफ्नै देशमा उत्पादित सिरिन्ज प्रयोग गर्न पाउने भएकामा खुसी व्यक्त गरे । स्वस्थ्य क्षेत्रको समस्याहरू आफूले हरसम्भव सम्बोधन गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।
यस्तै, फर्चुना सिरिन्ज उद्योगका कार्यकारी निर्देशक डा. ईश्वर जीसीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै नेपाल केही समयपछि नै सिरिन्ज उत्पादनमा आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरे ।
फर्चुना हेल्थकेयरले एक एमएलदेखि ६० एमएलसम्मका निडलसहितका सिरिन्जहरू तथा इन्सुलिन सिरिन्ज लगायतका उत्पादनहरू बजारमा ल्याएको छ । कम्पनीले चाँडै नै आईभी क्यानुला, हाइ क्वालिटी ग्लभ्स, ब्लड कलेक्सन ट्युब, आईभी क्यानुला फिक्सटर, एब्जर्बेन्ट कटन उल आईपी, गज, आईभी सेट, युरिन ब्याग, क्रेप एन्ड रोल ब्यान्डेजलगायतका उत्पादन बजारमा ल्याउन लागेको जानकारी गराएको छ ।
सबै उत्पादनहरूको गुणस्तरमा सम्झौता नगर्ने र मूल्य पनि आयातित सिरिन्जको तुलनामा केही कम रहेको कम्पनीको दाबी छ ।
उद्योग स्थापना तथा उत्पादन विविधीकरणका लागि ८० करोड रूपैयाँ पुँजी राखेको फर्चुना हेल्थकेयर प्रालिले हालसम्म ५० करोड रूपैयाँ खर्च भइसकेको जनाएको छ । कम्पनीले आफ्ना उत्पादन विश्व स्वास्थ्य संगठनले औषधि उद्योगका लागि तोकेको मापदण्ड जीएमपी पूरा गरेको र नेपाल गुणस्तर चिह्न प्राप्तिका लागि प्रक्रिया अघि बढिसकेको जनाएको छ ।
उद्योगमा भवानी राणाका साथै उद्योगी भरतराज आचार्य, ईश्वर जीसी, बाबुकाजी कार्की लगायतको लगानी छ ।
FACEBOOK COMMENTS