काठमाडौं । व्यावसायिक घराना कयाल ग्रुपले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
ग्रुपका निर्देशक कुनाल कयालले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।
कयाल ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्, महामारी तथा विभिन्न सामाजिक कार्यमा यसअघि पनि राहत तथा सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।
गत बुधबार भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको छ ।
सरकारको अपिलपछि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा निजीक्षेत्र, विभिन्न व्यावसायिक घराना, संघसंस्था तथा व्यक्तिहरूबाट सहयोग रकम जम्मा हुने क्रम जारी छ ।
कयाल ग्रुपले पनि बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले कोषमा २५ लाख रुपैयाँ योगदान गरेको जनाएको छ ।