काठमाडौं । उद्यमी तथा सांसद विदुषी राणाले नेपाली युवाको विदेश पलायन बाध्यता नभई रोजाइ बन्नुपर्ने बताएकी छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउने प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयक संवादमा बोल्दै राणाले नेपालमै पर्याप्त अवसर र रोजगारी सिर्जना गर्न नसक्दा युवाहरू विदेशिन बाध्य भएको बताइन्।
उनले युवालाई नेपालमै रोक्न सरकार र निजी क्षेत्र दुवैले सहकार्य गरी अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन्। “कुनै पनि देश छोड्ने कुरा युवाका लागि बाध्यता हुनुहुँदैन, यो उसको च्वाइस हुनुपर्छ। तर नेपालमा अवसर नभएकाले देश छोड्नैपर्ने अवस्था छ,” उनले भनिन्।
नेपालमा उद्योग, होटल, सूचना प्रविधि, अटोमोबाइललगायत क्षेत्रमा ठूलो सम्भावना रहे पनि त्यसको पर्याप्त उपयोग हुन नसकेको राणाको भनाइ छ। उद्योग स्थापना तथा सञ्चालनका क्रममा व्यवसायीले भोग्नुपर्ने नीतिगत जटिलता, प्रशासनिक झन्झट र कानुनी अवरोध हटाउनुपर्ने उनले बताइन्।
उद्यमीको पृष्ठभूमिबाट राजनीतिमा आएकी राणाले उद्योग सञ्चालनका क्रममा दैनिक रूपमा विभिन्न चुनौती सामना गर्नुपर्ने अनुभवसमेत सुनाइन्। आर्थिक विकासका लागि अर्थतन्त्रलाई प्राथमिकतामा राख्दै उद्योग तथा व्यवसाय सञ्चालनको वातावरण सहज बनाउनुपर्ने उनको भनाइ छ।
राणाका अनुसार उद्योगलाई आवश्यक पर्ने जनशक्ति र शैक्षिक संस्थाले उत्पादन गर्ने जनशक्तिबीच ठूलो अन्तर छ। औद्योगिक इन्जिनियरलगायत प्राविधिक जनशक्ति आवश्यक भए पनि नयाँ कर्मचारीलाई उद्योगको काम सिकाउन लामो समय लाग्ने र अनुभव हासिल गरेपछि उनीहरू विदेशिने गरेको उनले बताइन्।
इन्जिनियरिङसँगै आईटी, वित्त, चार्टर्ड एकाउन्टेन्सीलगायत विभिन्न क्षेत्रमा दक्ष जनशक्ति विदेशिने क्रम बढेको भन्दै उनले नेपालमै अवसर सिर्जना गर्नुपर्ने बताइन्। विदेशमा राम्रो अवसर पाउनु स्वाभाविक भए पनि युवालाई नेपालमै रोक्ने र विदेशबाट फर्किएर काम गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।
शिक्षालाई उद्योगसँग जोड्नुपर्नेमा जोड दिँदै राणाले उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम विकास गर्नुपर्ने बताइन्।
उनका अनुसार अटोमोबाइल उद्योगलाई ई–भेहिकल इन्जिनियर, म्यानुफ्याक्चरिङ क्षेत्रलाई मेसिन अपरेटर, गार्मेन्ट उद्योगलाई डिजाइनर तथा आईटी क्षेत्रलाई विशिष्ट सीप भएका जनशक्ति आवश्यक छ। तर उद्योगको मागअनुसारको जनशक्ति उत्पादन गर्ने गरी शैक्षिक पाठ्यक्रम निर्माण हुन नसकेको उनले बताइन्।
विद्यार्थीलाई कक्षाकोठामा मात्र सीमित नराखी उद्योग, कारखाना, वर्कसप, होटल तथा उत्पादन केन्द्रमै पुगेर सिक्ने अवसर दिनुपर्ने राणाको सुझाव छ। अप्रेन्टिससिप र इन्टर्नसिप कार्यक्रमलाई प्रभावकारी बनाउँदै विद्यार्थीलाई सिक्ने अवसर दिने उद्योगलाई सरकारले निश्चित प्रोत्साहन र सहुलियत दिनुपर्ने उनले बताइन्।
यस्तो व्यवस्थाले विद्यार्थीलाई व्यावहारिक सीप हासिल गर्न र उद्योगलाई आवश्यक जनशक्ति तयार गर्न सहयोग पुग्ने उनको तर्क छ।
युवालाई व्यवसाय सुरु गर्न सहज वातावरण बनाउन ‘वान विन्डो सिस्टम’ आवश्यक रहेको पनि राणाले बताइन्। व्यवसाय सुरु गर्न चाहने युवाले दर्ता, कर, वित्तीय स्रोत, अनुमति तथा अन्य स्वीकृतिका लागि विभिन्न कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ।
राणाले रोजगारी सिर्जना गर्ने उद्यमी तथा उद्योगीप्रतिको सामाजिक दृष्टिकोणमा समेत परिवर्तन आवश्यक रहेको बताइन्। सरकारको भूमिका व्यवसायीलाई नियमन गर्ने मात्र नभई सहजीकरण र प्रोत्साहन गर्ने पनि हुनुपर्ने उनको भनाइ छ।
रोजगारी सिर्जना गर्ने, निर्यात बढाउने, आयात प्रतिस्थापन गर्ने तथा देशभित्रै मूल्य अभिवृद्धि गर्ने उद्योगलाई पहिचान गरी सरकारले विशेष प्रोत्साहन दिनुपर्ने राणाले बताइन्।