काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले क्यानडा नेपाल डट कममा कार्यरत पत्रकार तथा महासंघ काठमाडौं शाखाका सदस्य विनोद ढकाललाई प्रहरीले साइबर अपराध मुद्दामा पक्राउ गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।
शुक्रबार जारी प्रेस विज्ञप्तिमा समितिले पत्रकारले लेखेको समाचार तथा त्यससँग सम्बन्धित विषयमा सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरिएको सामग्रीलाई आधार बनाएर साइबर अपराध मुद्दा लगाइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएको जनाएको छ । समितिका अनुसार नेपालको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि यस घटनाले प्रत्यक्ष हस्तक्षेप गरेको छ ।
विज्ञप्तिमा सुनसरी जिल्लामा दर्ता भएको मुद्दाको आधारमा काठमाडौंबाट पत्रकार ढकाललाई पक्राउ गरिएको, साइबर अपराध मुद्दामा पक्राउ परेका व्यक्तिको घर–कोठामा खानतलासी समेत गरिएको उल्लेख गर्दै यसलाई पत्रकारिता क्षेत्रलाई त्रसित बनाउने र स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने प्रयासका रूपमा लिइएको बताइएको छ ।
समितिले पत्रकार ढकाललाई तत्काल रिहा गर्न माग गर्दै पत्रकारिता पेशामाथि आकर्षित हुने कानुनका विषयमा सरकारसँग स्पष्ट धारणा सार्वजनिक गर्न पनि आग्रह गरेको छ । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायलाई अपिल गरिएको छ ।


यसअघि पत्रकार ढकाललाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले साइबर क्राइम मुद्दामा आज बिहान पक्राउ गरेको थियो । उनले प्रहरी प्रमुख दानबहादुर कार्की, इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलसहितका व्यक्तिविरुद्ध आफ्नो फेसबुकमा लेखेका थिए ।
उनका विरुद्ध इलाका प्रहरी कार्यालय, इटहरी, सुनसरीमा दर्ता भएको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ । सुनसरी जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा पक्राउ परेका कारण उनलाई मुद्दाको अनुसन्धानका लागि सुनसरी चलान गरिने प्रहरीले जनाएको छ ।