काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुने बताएका छन् ।
आज बिहीबार सङ्घीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले त्यसमा उल्लिखित नीति तथा कार्यक्रमको कार्यान्वयमा सघाउ पुग्ने गरी मौद्रिक नीति आउने बताएका हुन् ।
‘बजेटमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रमको कार्यान्वयनबाट आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छु । आगामी वर्ष मुद्रास्फीति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान छ,’ अर्थमन्त्री पौडेलले भने, ‘बजेटमा उल्लिखित नीति तथा कार्यक्रमको कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ ।’