काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अन्जन श्रेष्ठले बजेटबाट सम्बोधन नभएका कुरा मौद्रिक नीतिबाट सम्बोधन हुनुपर्ने माग राखेका छन् ।
आइतबार अर्थ समितिको बैठकमा बोल्नै उनले यस्तो बताएका हुन् । बैठकमा उनले भने, ‘बजेटबाट सम्बोधन नभएका कुरा मौद्रिक नीतिबाट सम्बोधन हुन्छ भन्ने अपेक्षा राखेका छौँ । विगतमा पनि मौद्रिक नीतिले केहि न केही राहत दिएको अवस्था हो । त्यसकारण मौद्रिक नीतिमा अपेक्षाहरू धेरै छन् ।’
अध्यक्ष श्रेष्ठले उद्योगीहरूको वर्गीकरण गर्नुपर्ने माग गर्दै अगाडी भने, ‘जानाजान ऋण नतिर्ने र परिस्थितिवश तिर्न नसक्ने उद्योगहरूबिच फरक छुट्याउनु पर्छ । यी दुई उद्योगबिच फरक फरक। परिभाषा बनाउनुपर्छ ।’
त्यस्तै, उनले लगानी थुप्रिएर बसेको अवस्थामा माग बढाउनु पर्ने आवश्यकता रहेको बताए । अहिले माग घटिरहेकाले उत्पादन पनि बढ्न नसकेको उनको तर्क छ ।
‘बैंकहरुको स्वामित्वमा थुप्रै जफत भएको सम्पत्ति रहेको छ । एनपीए बढ्दै गएको छ । कर्जा डिफल्ड भएर भयावह हुँदै आएको छ । यस्तो सम्पत्ति व्यवस्थापन गर्न ध्यान दिनुपर्छ’, उनले भने ।
फरक फरक व्यवसायीमा फरक फरक समस्या रहेकाले बैंकर र व्यवसायीबिच नै छलफल हुन आवश्यक रहेको अध्यक्ष श्रेष्ठले बताए । वित्तीय क्षेत्रको रिर्फममा पनि ध्यान दिनुपर्ने देखिएको उनले औँल्याए ।

उनका अनुसार नेपालमा रोजगारीको ठूलो समस्या रहेको छ । रोजगारीका लागि युवाहरू विदेशिन बाध्य छन् । नेपालमा ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिएको छ । राज्यको योगदान कम रहेकाले सरकारले यस तर्फ ध्यान दिन जरुरी रहेको छ ।
‘उपभोगका लागि पनि हामीले विदेशकै मुख ताक्नुपर्ने स्थिति छ । झण्डै ७० प्रतिशत आयात गरेर उपभोग गरिरहेका छौँ । यसमा हामीले पनि उत्पादन गर्न सक्छौँ की भनेर ध्यान दिनुपर्छ’, अध्यक्ष श्रेष्ठले भने ।