काठमाडौं । आगामी वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘आईएमई–पे क्यान इन्फोटेक २०२२’ हुने भएको छ ।
कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गर्ने २७औं संस्करणको क्यान इन्फोटेकको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने महासंघका अध्यक्ष नवराज कुँवरले जानकारी दिए । ‘आईएमई–पे क्यान इन्फोटेक २०२२ इन एसोसिएशन विथ एससीटी स्मार्ट क्यूआर’ तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।
महासंघले आज सोमबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार इन्फोटेकको शीर्ष प्रायोजन आईएमई–पेले गरेको छ भने सह–प्रायोजन एससीटी स्मार्ट क्युआर युनियन–पेले गरेको छ । सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनी क्यान इन्फोटेक भएको महासंघको दाबी छ ।
कोरोना भाइरस महामारीले उत्पन्न परिस्थितिहरूका कारण यसअघि दुई पटक स्थगित भएको मेला यो पटक राजधानीमा मात्रै गरिने भएको छ । यसअघि मेला आयोजना गर्दा सबै प्रदेशहरूमा एकसाथ आयोजना गर्ने गरिएको महासंघले जानकारी दिएको छ । यद्यपि, यो पटक भर्चुअल रूपमा पनि प्रदर्शनीको व्यवस्था मिलाइएकाले देशभरबाट काठमाडौंको प्रदर्शनी अवलोकन गर्न सकिने महासंघको भनाइ छ ।
‘क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रूपमा सहभागिता हुनसक्ने गरी भर्चुअल प्रदर्शनीको समेत व्यवस्था गरिने छ,’ महासंघका महासचिव नारायण थापाले भने, ‘भर्चुअल प्रदर्शनीका निम्ती मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रूपमा क्यान महासंघसँग सहकार्य गरेको छ ।’
क्यान मेलाले कोभिड–१९ का कारण प्रभावित भएका तथा नभएका सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई सहयोग पुग्ने अपेक्षा महासंघले लिएको छ ।
इन्फोटकको प्लाटिनम प्रायोजक वर्ल्डलिंक कम्युनिकेसन, डायमण्ड प्रायोजक डिस होम फाइबरनेट, गोल्ड प्रायोजकमा जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड रहेका छन् । त्यसैगरी सिल्भर प्रायोजकमा नमस्ते–पे, डिजिकम, एस पावर, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजीज र टेकमिन्ट रहेका छन् ।
त्यसैगरी इन्नोभेसन पार्टनरमा सफ्टवेरिका कलेज, एकेडेमिक पार्टनरको रुपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब, ई–कमर्श पार्टनर सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनरको रुपमा अल्ट्रा एलईडी रहेका छन ।
प्रदर्शनीमा गुणस्तरीय खाना तथा नास्ताको प्रबन्ध गर्न रेबानसँग सहकार्य गरिएको महासंघले जनाएको छ । यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आईएमई बैंक, अफिसियल इन्स्युरेन्सको रुपमा आईएमई जनरल इन्स्युरेन्स रहेका छन् ।
यो पनि पढ्नुहोस्–
विगतको तुलनामा यो वर्षको क्यान इन्फोटेक मेला फरक र तीव्र प्रभावी बनाइने छ (भिडियोसहित)
इन्फोटेकलाई नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसिएशन अफ नेपाललगायत अन्तर्राष्ट्रिय संस्था विट्सालगायतको सहयोग रहेको महासंघका महासचिव थापाले जानकारी दिए । उनका अनुसार क्यान इन्फोटेक २०२२ मा विभिन्न खण्डहरू रहने छन् । जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसीटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ र ई–गभर्नेन्स मुख्य हुने छन् ।
ब्राण्डिङ खण्डमा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनी एवम् उत्पादनहरूको सहभागिता रहने छ । फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवम् सम्बन्धित संस्थाहरुको सूचना तथा सञ्चार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धी उत्पादनहरू रहने छन् ।
त्यस्तै स्टार्टअप र इन्नोभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शनी गर्ने छन् । इन्नोभेशनका निम्ति क्यान महासंघ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेको छ भने स्टार्टअपका निम्ति निम्ति क्यान महासंघले सार्वजनिक सूचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरेर प्राप्त आवेदनहरूबाट छनौट गरिसकिएको बताइएको छ ।
सूचना तथा संचार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरूको प्रवर्द्धन गर्ने आफ्नो योजना अनुरूप क्यान महासंघले स्टार्टअप र इन्नोभेशनलाई विशेष प्राथमिकतामा राखेको महासचिव थापाको भनाइ छ । सूचना प्रविधि सम्बन्धी अध्ययन एवम् कार्य गरिरहेका विद्यार्थीहरूको क्षमताः विकास गर्नु, उनीहरूको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहारपयोगी शिक्षामा योगदान गर्नु पनि मेलाको उद्देश्य रहेको उनले बताएका छन् ।
आइसीटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिड खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्ने छन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरीद गर्न पाउने छन् ।
यसबाहेक क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, वाइफाई तथा इन्टरनेटलगायत कुराहरू रहनाका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पायर सिष्टम सोल्युशन, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरू प्रदर्शनी तथा विक्रीमा राख्ने छन् ।
त्यसैगरी, आर्टीफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारि, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने छन् ।
प्रर्दशनीमा टिकटक प्याभिलिअन, अम्ब्रेला स्ट्रिट रहनुका साथै यो प्रर्दशनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरूका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने थलो पनि हुने विश्वास महासंघले गरेको छ । साथै, महामारी तथा बन्दाबन्दीका बेलामा देखिएको सूचना तथा सञ्चार प्रविधिको अपरिहार्यताले सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई यस क्षेत्रप्रति थप आकर्षित गरेको हामी सबैले महशुस गरेका छौँ । त्यसैले पनि यो वर्षको क्यान इन्फोटेक अझ विशेष हुने हाम्रो महासंघको विश्वास छ ।
FACEBOOK COMMENTS