काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति गगन थापालाई संस्थापन इतर पक्षसँग संवाद गर्ने जिम्मेवारी दिएको छ ।
बुधबार बसेको बैठकले सभापति थापालाई संवादको लागि जिम्मेवारी दिएको प्रवक्ता देवराज चालिसेले बताए । असन्तुष्ट पक्षका माग सुन्ने र छलफल गर्ने दायित्व संस्थापनको भएकाले सभापति थापालाई जिम्मेवारी तोकिएको उनको भनाइ छ ।
“केही साथीहरु असन्तुष्ट देखिएको भन्ने कुराहरू छ । १५ औं महाधिवेशनलाई समयमै सम्पन्न गर्न र असन्तुष्ट पक्षको कुरा सुन्न अभिभावकीय दायित्व निर्वाहको जिम्मा सभापतिको हो,’’ उनले भनेका छन् ।
पार्टी सभापतिलाई पुराना पदाधिकारीसँग संवाद गर्ने र १५ औं महाधिवेशनलाई समयमै सम्पन्न गर्न परिस्थिति निर्माणका लागि जिम्मा दिइएको उनले बताए ।