काठमााडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको काम अबको २१ दिनभित्रै सक्ने निर्णय गरेको छ।
महामन्त्री प्रदीप पौडेल संयोजक रहेको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन समितिले जेठ २१ गतेभित्र अनिवार्य रूपमा क्रियाशील सदस्यता अद्यावधिक कार्य सक्ने लक्ष्य लिएको हो।
समितिको बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिक सम्बन्धी कार्य जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नु पर्ने निर्णय गरेको महामन्त्री पौडेलले जानकारी दिए।
सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको अभिलेखीकरणलाई डिजिटल रुपमा सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउनका लागि विभिन्न डिजिटल माध्यम प्रयोगमा ल्याएको पनि उनले बताए।
‘नेपाली कांग्रेसका प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत फारम भरी अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ। यसका लागि नेपाली कांग्रेसको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ उपलव्ध गराइएको छ,’ उनले भने।

उनकाअनुसार अनलाइनमार्फत अद्यावधिक गर्दा कुनै समस्या भएमा ९७०१२५५५५५ मा सम्पर्क गरेर एआई साथीसँग सहयोग लिन सकिने व्यवस्था गरिएको छ।

केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रको नम्वर ९७१२०५६३५१ र ९७१२०५६३५२ मा सम्पर्क गरेर पनि समस्याको समाधान गर्न सकिने व्यवस्था गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।