काठमाडौं । कर्पोरेट मिडिया ग्रुपले वार्षिकरूपमा गर्दै आएको ‘कर्पोरेट बिजनेश अवार्ड, २०२६’ विशेष कार्यक्रम आउँदो असार ४ गते आयोजना गरिने भएको छ । कार्यक्रम ईश्वरलाल प्रतिष्ठानसँगको सहकार्यमा आयोजना हुँदैछ ।
नेपालको निजी क्षेत्र, बैङ्किङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिँदै आएका ‘कर्पोरेट बिजनेस अवार्ड, २०२६’ १८औँ संस्करण हो ।
सङ्घीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा लाजिम्पाटस्थित होटेल र्याडिसनमा आयोजना हुने सो कार्यक्रममा नेपालको अर्थतन्त्रमा विभिन्न क्षेत्रबाट योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरूलाई २३ वटा विभिन्न विधामा सम्मान गरिन लागिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वल जंग शाहले जानकारी दिए ।
उनका अनुसार अवार्ड कार्यक्रमसँगै देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रले भोगिरहेका चुनौती तथा आर्थिक पुनरुत्थानका सम्भावनाबारे विशेष छलफल कार्यक्रम पनि आयोजना गरिने छ । सो कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेसहित प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, सङ्घीय सांसदहरू, अर्थशास्त्री, विश्लेषक, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहनेछ ।
यस वर्ष लाइफ टाइम अचिभमेन्ट, बिजनेस लिडर, कमर्सियल बैङ्क, डेभलपमेन्ट बैङ्क, फाइनान्स कम्पनी, अटोमोटिभ, हेल्थ इन्स्टिच्युट, हाइड्रोपावर, इन्डस्ट्री, फेशन एन्ड ब्युटी इन्स्टिच्युट, लाइफ इन्स्योरेन्स, नन लाइफ इन्स्योरेन्स, अटो स्पेयर पाट्र्स, वुमन इन्टरप्रेनर, इन्भेस्टमेन्ट बैङ्किङ लगायतका विधामा अवार्ड प्रदान गरिने अध्यक्ष शाहको भनाइ छ ।

कर्पोरेट मिडिया ग्रुपले विगत १८ वर्षदेखि विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउँदै आएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ । निजी क्षेत्रको मनोबल बढाउने, सफल व्यावसायिक अभ्यासलाई प्रोत्साहन गर्न र मुलुकको आर्थिक विकासमा योगदान दिने व्यक्ति तथा संस्थाको पहिचान र सम्मान गर्ने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना हुँदै आएको छ ।

अहिले सुस्त देखिएको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको भूमिका, लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक सुधारका विषयमा समेत कार्यक्रममा छलफल हुने छ । देशभरका उद्योगी व्यवसायी, बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी, स्वास्थ्य संस्था, ऊर्जा क्षेत्र र अन्य व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति यो कार्यक्रम आयोजना गरिने छ ।