काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कुल ७ हजार ९५ जनाको नमूना परीक्षणबाट उक्त संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
बितेको २४ घण्टामा देशभर ४ हजार २५६ जनामा आरटी–पीसीआर गर्दा ४९८ जना र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण गर्दा १८२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ७४ हजार ३९ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९०२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८३५ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ४२ हजार ७३७ जना पुगेको छ । यो कुल संक्रमितको ९६.८ प्रतिशत हो ।
अघिल्लो दिन देशभर ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८ जनाको मृत्यु तथा २ हजार ३१९ जना संक्रमणमुक्त भएका थिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ४०० जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५३ लाख ५० हजार ७२१ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले १९ हजार ४०० जना आइसोलेसन र ११२ जना क्वारेन्टिनमा छन् ।
आज काठमाडौं उपत्यकामा २०९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १७० जना, भक्तपुरमा १५ जना र ललितपुरमा २४ जना संक्रमित थपिएका छन् ।
हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये १९ हजार ९८२ जना होम आइसोलेशन र ७५७ जना संस्थागत आइसोलेशनमा छन् । त्यस्तै १७४ जना संक्रमितको आईसीयु र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
FACEBOOK COMMENTS