काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी लगायतका केही डिजिटल सम्पत्तिहरुमा लगानी नगर्न भनेको छ। मुलुकभित्र र बाहिर रहेका नेपालीहरुलाई डिजिटल सम्पत्तिमा लगानी गरे कारबाही गरिने जनाएको हो।
नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा यस्ता सम्पत्तिको कानुनी मान्यता नहुने राष्ट्र बैंकले जनाएको हो। जसलाई नेपालमा गैरकानूनी मानिन्छ। क्रिप्टोकरेन्सी, एनएफटी, नेटवर्क मार्केटिङ र हाइपर फण्डलगायतमा लगानी गर्नुलाई राष्ट्र बैंकले गैरकानूनी हुने उल्लेख जनाएको छ।
यस्ता डिजिटल एसेट्सहरुमा लगानी गर्दा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापका मुद्दामा कारबाही हुने चेतावनी राष्ट्र बैंकले दिएको छ। यसबाहेक ठगी, कर छली, सट्टेबाजी लगायतमा पनि सलंग्न नहुन राष्ट्र बैंकले सचेत गराएको छ।
पहिलो पटक २०७४ साउनमा राष्ट्र बैंकले बिटक्वाइन गैरकानुनी रहेको सूचना प्रकाशित गरेको थियो। गत साउन ३० गते क्रिप्टोसम्बन्धि व्यवस्था जानकारी दिँदै सूचना प्रकाशित भएको थियो।
प्रहरी प्रशासन र सम्बन्धी निकायले विभिन्न व्यक्तिलाई पक्राउ गरेर कारबाही गरे पनि गतिविधि नियन्त्रण भने भएको छैन। तर राष्ट्र बैंकको एक विश्लेषणले किप्टोकरेन्सी राज्यको लागि मात्र नभएर व्यक्तिको लागि पनि जोखिम पूर्ण रहेको निष्कर्ष निकालेको छ।

राष्ट्र बैंकले ‘किप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण’ गरेको थियो। जसमा व्यक्तिगतदेखि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी सम्बन्धी जोखिमहरू रहेको देखाएको छ। अहिले करिब २३ हजार वटा क्रिप्टोकरेन्सीहरु प्रचलनमा छन्। यसमध्ये सबैभन्दा धेरै बिटक्वाइन प्रचलनमा छ। राष्ट्र बैंकका अनुसार ४२ प्रतिशत बिटक्वाइनको कारोबार भइरहेको छ।

प्रचलित आर्थिक, मौद्रिक तथा वित्तीय व्यवस्थामा सरकार, केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्था, बचतकर्ता, ऋणी, सर्वसाधारण लगायत विभिन्न सरोकारवाला पक्षहरू हुने र उक्त पक्षहरू बीचको हित सुनिश्चित हुने उद्देश्यका साथ देशले आवश्यक नीतिगत व्यवस्था गर्छ। यो परिप्रेक्षमा क्रिप्टोकरेन्सीको कारोबारमा वित्तीय मध्यस्थकर्ता लगायत अन्य पक्षहरुलाई समावेश नभई सोका प्रयोगकर्ता/लगानीकर्ता बीचमा मात्र केन्द्रित हुने लगानी/स्वामित्व समेत सट्टेबाजी प्रकृतिको भई त्यस्तो लगानीमा अत्यधिक जोखिम रहने हुँदा आर्थिक सन्तुलन नहुने जोखिम राष्ट्र बैंकको विश्लेषण छ।