काठमाडौं । नेपाली कांग्रेसले रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्न माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङले संलग्न सबैलाई कारबाही गर्न माग गरेका हुन्।
उनले सांसद श्रेष्ठलाई छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरे।
त्यस्तै श्रेष्ठले सभापति रवि लामिछानेको ‘कोर टीम’ लाई बुझाउनका लागि पैसा चाहिएको भनेको भन्दै सो ‘कोर टीम’ को हुन् भन्ने विषयमा पनि छानबिन हुनुपर्ने बताए।
उनले भने, ‘म निवेदन गर्न चाहन्छु, त्यो वार्तामा भनिएको छ कोर टिमलाई बुझाउनुपर्छ। त्यो कोर टिम भनेको को हो? त्यसको पनि छानविन गर्नुपर्दैन? त्यसकारणले गर्दाखेरी यसको छानबिनका लागि आज यो संसदभित्रको एउटा प्रतिनिधि सभा सदस्यले गरेको वार्तालापको सन्दर्भमा, भ्रष्टाचारको सन्दर्भमा, कमिशनको सन्दर्भमा यो संसद चुप लागेर बस्नु हुँदैन। त्यसकारणले आजैको दिनमा यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्नका लागि म माग गर्दछु।’
त्यस्तै सांसद गुरुङले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने भन्दै करोडौँ रकम लेनदेन गरेको समाचार बाहिरिएकोप्रति पनि सरकारले छानबिन गर्नुपर्ने बताए।
