काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारी नीतिकै कारण व्यवसायमा अनेकौं समस्या आउने गरेको बताएका छन् ।
नेपाल रत्न तथा आभुषण संघले महासंघको नयाँ नेतृत्वलाई बधाइ तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
अध्यक्ष श्रेष्ठले सुनचाँदी, हिरा र बहुमूल्य पत्थरको व्यवसाय बाहिरबाट हेर्दा चम्किलो देखिए पनि भित्र चुनौती नै चुनौतीले भरिएको बताए ।
‘कुन बेला कुन व्यवसायमा चुनौती आउँछ थाहा नहुने रहेछ,’ विगतमा उत्कर्षमा पुगेको कार्पेट, गार्मेन्ट, पस्मिना जस्ता व्यवसाय खस्किएको उदाहरण दिँदै उनले भने, ‘समस्या सरकारी नीतिले नै ल्याउने गरेको छ ।’
यो व्यवसायले झेलिरहेका समस्या समाधानका लागि महासंघले पहल गरिरहेको जानकारी दिँदै बजेटका लागि दिएको सुझावमा हिरा तथा बहुमूल्य पत्थरमा गत वर्षको बजेटमार्फत सुरु गरिएको मूल्य अभिवृद्धिकर हटाउने विषय समेटिएको श्रेष्ठले जानकारी दिए । सुनमा लाग्ने बिलासिता कर पनि शून्य दशमलव ५० प्रतिशत मात्र कायम गर्न महासंघले सुझाएको उनले बताए ।

महासंघले उद्योग व्यवसायका क्षेत्रगत मुद्दा र चासोका विषय उजागर गरी पैरवी गर्न वस्तुगत संघहरुसँग छुट्टाछुट्टै छलफल चलाउने उनले जानकारी दिए । महासंघले ३–३ महिनामा नीतिगत वहस चलाउन लागेको र त्यो बजेटपछि सुरु हुने श्रेष्ठको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले नेपालका बहुमूल्य पत्थर उपयोग गर्ने विषयमा सोच्न रत्न पत्थर व्यवसायीलाई सुझाए । महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले सुनचाँदी, हिरा र बहुमूल्य पत्थरको व्यवसाय समस्यै समस्याले जेलिएको र बढी जोखिमपूर्ण कारोबार भएको बताए ।

सुनचाँदी र आभुषण व्यवसायीले सरकारी नीतिका कारण चाहेर पनि सही किसिमले काम गर्न नसक्ने अवस्था रहेको उनले बताए । महासंघका अर्का उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले पनि हिरा र बहुमूल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धिकर हटाउनुपर्ने र बिलासिता कर तथ्यांक राख्ने प्रयोजनका लागि मात्र न्यूनतम दरमा लगाउनुपर्ने बताए ।
महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले नेपाली ग्राहक हिरा जडित गरगहना किन्न बाहिर नजाने वातावरण बनाउन हिरा र बहुमूल्य पत्थरमा लाग्ने मूल्य अभिवृद्धिकर हटाएर सुनको बिलासिता कर १ प्रतिशत गर्नुपर्ने बताए । महासंघका पूर्वअध्यक्ष तथा आयोजक संघकी निवर्तमान अध्यक्ष ज्योत्सना श्रेष्ठले मूल्य अभिवृद्धिकर नहटाए हिरा र रत्न पत्थरको व्यवसाय धराशयी हुने बताइन् ।
महासंघका कोषाध्यक्ष तथा संघका पूर्वअध्यक्ष मनिषलाल प्रधानले सुनचाँदी र आभुषणको क्षेत्रले असाध्यै धेरै सम्भावना बोकेको भए पनि सरकारी बेवास्ताको सिकार बनेको बताए । उच्च मूल्य, न्यून ढुवानी खर्च र ब्रान्ड स्थापित भइसकेको हुँदा यस क्षेत्रबाट अर्थतन्त्रले ठूलो लाभ लिन सक्ने सम्भावना उनले औंल्याए ।
४ लाख परिवार आश्रित रहेको गरगहना क्षेत्र अपर्याप्त कच्चा पदार्थ, बाहिरबाट किन्दा बिल नपाउने र बिल नहुँदा समस्यामा परिने, खुला सिमानाबाट हुने चोरी पैठारी जस्ता समस्याबाट आक्रान्त रहेको उनको भनाइ छ ।
व्यवसायीको वासलातको आधारमा सुन देऊ भन्दा पनि नपाएको गुनासो गरे । प्रधानले बिल बनाउनका लागि परिचयपत्र माग्दा ग्राहक भाग्ने अवस्था रहेको भन्दै सुनचाँदी र गरगहना खरिदमा क्युआरबाट भुक्तानी गर्न मिल्ने सीमा १० लाख रुपैयाँ पुर्याउन माग गरे ।
यसअघि संघका अध्यक्ष सुमनमान ताम्राकारले सुनचाँदी, हिरा र बहुमूल्य पत्थर व्यवसायका समस्या र चासोका विषय जानकारी गराउँदै तिनको सम्बोधनमा महासंघले सशक्त पैरवी गरिदिनुपर्ने बताएका थिए ।
संघका महासचिव जयराम पाण्डेयले महासंघको वर्तमान नेतृत्वले निजी क्षेत्रको आवाजलाई अझ सशक्त र बुलन्द बनाउँदै मुलुकको आर्थिक उन्नतिमा अभूतपूर्व योगदान गर्नेमा आफूहरु विश्वस्त रहेको बताए ।