काठमाडौं । इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रीम इनर्जी ड्रिंक्सले नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि आठमध्ये छ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरसिप सम्झौता गरेको छ।
कम्पनीले यसलाई नेपाली खेलकुद इतिहासमै निजी क्षेत्रबाट भएको सम्भवत: सबैभन्दा ठूलो व्यावसायिक साझेदारीका रूपमा उल्लेख गरेको छ। सोमबार आयोजित एक कार्यक्रममा ब्रान्डले छ वटा फ्रेन्चाइज टोलीसँग औपचारिक सम्झौता सम्पन्न गरेको हो। सम्झौता गरिएका टोलीहरूमा काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स रहेका छन्।
सम्झौता अनुसार, एक्स्ट्रीम इनर्जी ड्रिंक्स आगामी तीन वर्षसम्म सम्बन्धित टोलीहरूको प्रमुख प्रायोजक रहनेछ। साथै, टोलीहरूको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा ब्रान्डको लोगो रहने सम्झौता भएको छ।
एग्रो थाई फुड्स प्रालीकी बिजनेस हेड सोनिया राणाका अनुसार यो सहकार्य नेपाली क्रिकेटको व्यावसायिक विस्तारसँगै खेल उद्योगमा निजी क्षेत्रको बढ्दो विश्वासको संकेत हो।
कम्पनीका नेसनल सेल्स म्यानेजर कृष्ण दहालले एनपीएलसँगको सहकार्यलाई गर्वको विषय बताउँदै यो साझेदारी केवल ब्रान्ड प्रवद्र्धन मात्र नभई नेपाली क्रिकेटको दीर्घकालीन विकासमा योगदान दिने उद्देश्यसहित गरिएको स्पष्ट पारे।
एग्रो थाई फुड्सले विगत केही वर्षदेखि खेलकुद क्षेत्रमा निरन्तर लगानी गर्दै आएको जनाएको छ। कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजकसमेत रहँदै आएको छ र क्रिकेट, फुटबल, भलिबल, म्याराथन लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधिमा सक्रिय रहँदै आएको बताइएको छ।
कम्पनीका अनुसार यो साझेदारीले नेपाल प्रिमियर लिगलाई अझ व्यावसायिक, प्रतिस्पर्धी र दर्शकमैत्री बनाउने अपेक्षा गरिएको छ। साथै, नेपाली खेलकुदमा निजी क्षेत्रको सहभागिता र लगानीप्रतिको विश्वास अझ मजबुत भएको संकेत समेत यसले दिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो संस्करणका लागि आजै खेलाडी अक्सन गर्दैछ । अक्सनमार्फत आठ फ्रेन्चाइज टोलीले कुल ५२ नेपाली खेलाडी अनुबन्ध गर्नेछन् । आगामी एनपीएल संस्करण दसैँपछि आयोजना हुने तयारी भइरहेको क्यानले जनाएको छ ।