काठमाडौँ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका-६, बाह्रबिसे बजारमा बुधबार दिउँसो भएको आगलागीबाट दुई करोड बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट बाह्रबिसेमा पाँचवटा घर जलेर नष्ट भएका हुन् ।
आगो नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा निभाइएको थियो । गाउँपालिकाका अध्यक्ष भीम सिङ्थाका अनुसार पाँच घर जलेर नष्ट हुनुका साथै घरमा रहेका गरगहना, लत्ताकपडा र खाद्यान्न कसैले झिक्न पाएनन् ।
आगलागीपीडितलाई सभापोखरी गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाले पीडितलाई दुई थान ओढ्ने र ओछ्याउने कपडा, भान्सामा प्रयोग हुने सामग्री र खाद्यान्न वितरण गरेको अध्यक्ष सिङ्थाले बताए ।
अग्निपीडित आफन्त र छिमेकीको घरमा बसेका छन् । आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बू, सुशील तामाङ र निर्मला कालाखेतीको घर जलेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । आगलागीबाट पाँच घरका कम्तीमा १७ जना विस्थापित भएका छन् ।
बुधबार दिउँसो रामबहादुर राईको घरबाट आगलागी सुरू भएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन नभएको प्रहरीले जनाएको छ ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-३, गैरीस्थित मुक्ति बास्तोलाको घरमा नेचासल्यान-३ बस्ने रमेश बास्तोलाले सञ्चालन गरेको होटलमा विद्युत् सर्ट भई बुधबार साँझ आगलागी हुँदा घर, घरभित्र रहेका लत्ताकपडा, भाँडा, अन्नपात, गरगहनालगायत अन्य सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन् । उक्त आगलागीबाट करिब २३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले अनुमान गरेको छ ।
त्यस्तै, खोटाङको बराहपोखरी गाउँपालिका-५, मौवाबोटे बस्ने ८१ वर्षीय पदमबहादुर राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा नगद, सुनका गरगहाना, अन्नपात, लत्ताकपडा, भाँडासहित करिब आठ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पर्वतको कुश्मा नगरपालिका-४, जिरो किमिस्थित हरि श्रेष्ठको कालिका कपास फ्याक्ट्रीमा विद्युत सर्ट भई बुधबार बेलुकी आगलागी हुँदा फ्याक्ट्री पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइनसकेको प्रहरीले जनाएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका-९, झरनापुलस्थित टप क्वालिटी पार्ट्स सेन्टर ग्यारेजमा मर्मत गरिरहेको अवस्थामा को १ च ६६१० नम्बरको कारमा ब्याट्रीको तार सर्ट भई बुधबार राति आगलागी हुँदा कार पूर्ण रूपमा जलेर नष्ट भएको छ । उक्त आगलागीबाट करिब २५ लाख रूपैयाँ बराबरको क्षति भएको छ । प्रहरीले स्थानीय तथा दमकलको सहयोगमा आगो निभाइनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
FACEBOOK COMMENTS