काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा सुरू भएको छ ।
हाल वस्तुगत तर्फका उपाध्यक्ष रहेका हेमराज ढकालको समूहले भोलि सोमबार विभिन्न पदमा उम्मेदवारी घोषणाको तयारी गरेको छ ।
उम्मेदवारी घोषणाका लागि सो समूहले भोलि अपराह्न ४ बजे होटेल याक एण्ड यतिमा विशेष कार्यक्रम आयोजना गर्न लागेको छ । उक्त कार्यक्रममार्फत वरिष्ठ उपाध्यक्षबाहेक अन्य पदहरूमा उम्मेदवारी घोषणा गर्ने तयारी छ ।
स्रोतका अनुसार एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरेलाई उम्मेदवार बनाउने ढकाल समूहको तयारी छ । यस्तै, वस्तुगत उपाध्यक्षमा नरेश लाल श्रेष्ठ र महिला उपाध्यक्षमा कमला श्रेष्ठलाई उम्मेदवार बनाइने भएको छ ।
उल्लेखितबाहेक अन्य पदहरूमा पनि उम्मेदवारी घोषणा गर्ने तर वरिष्ठ उपाध्यक्षको उम्मेदवारी भने केही समयपछि गर्ने तयारी रहेको बताइएको छ ।

यद्यपि, हाल वस्तुगत उपाध्यक्ष रहेका हेमराज ढकाललाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रूपमा प्रस्तावित गरिएको छ । नयाँ वरिष्ठ उपाध्यक्ष नयाँ निर्वाचित कार्यसमितिबाट चयन हुने संघको वैधानिक व्यवस्था छ ।

आगामी कार्यकालसम्म वर्तमान वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था छ । त्यसपछि भने अध्यक्षमा पनि प्रतिस्पर्धा हुने छ । विद्यमान व्यवस्था अनुसार हाल वरिष्ठ उपाध्यक्ष रहेका अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि स्वत: अध्यक्ष बन्दैछन् ।

यसैबीच, भावी नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्को समूह निर्माण गरिरहेको बताइएको छ । उक्त समूहबाट वस्तुगत उपाध्यक्षको उम्मेदवारमा शिवप्रसाद घिमिरे, एसोसिएट्समा प्रबलजंग पाण्डे, जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलकुमार श्रेष्ठ रहने बताइएको छ ।

महासंघले आगामी चैत २८ र २९ गते ६०औँ वार्षिक साधारणसभा आयोजना गर्र्दैछ । उक्त साधारणसभाले संघले भावी नेतृत्व चयन गर्ने छ ।

यो पनि पढ्नुहोस्–
उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पदका आकांक्षीहरूको चहलपहल तीव्र
FACEBOOK COMMENTS