काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको निमन्त्रणामा रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन आईओईका महासचिव रोबर्टो सुवारेज सान्तोस तीनदिने नेपाल भ्रमणका लागि नेपाल आउने भएका छन् ।
विश्वभरका रोजगारदाताहरुको अन्तराष्ट्रिय संस्था आईओईका महासचिव सम्भवत: पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । सान्तोस २०८२ साउन ८ देखि १० गते (२४–२६ जुलाई २०२५) सम्मको नेपालको भ्रमणमा रहने नेपाल उद्योग वाणिज्य महासंघले जानकारी दिएको छ ।
यसै वर्ष जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलन (इन्टरनेशनल लेवर कन्फ्र्न्स) मा अध्यक्ष ढकाल र महासचिव सान्तोसबीच भएको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले महासचिव सान्तोसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
१९२० मा स्थापना भई जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय रोजगारदाताहरुको संगठन (आईओई) विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको सञ्जाल हो । जसले १४० भन्दा बढी देशहरूमा रहेका १५० भन्दा धेरै रोजगारदाताहरुको संगठनहरूलाई प्रतिनिधित्व गर्छ । नेपालमा महासंघ आईओईको सदस्य हो ।
नेपालमा रहँदा सान्तोसले महासंघ अध्यक्ष लगायत पदाधिकारीसँग छलफल गर्नु हुनेछ । यसैगरि नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुसँग पनि सान्तोसको भेटघाटको कार्यक्रम तय भएको छ ।
अध्यक्ष ढकालका अनुसार यस भ्रमणले महासंघ र आइओइबीचको सम्बन्ध थप सुदृढ हुनाको साथै नीतिगत सहकार्य सुदृढ हुने महासंघले विश्वास लिएको छ ।
छलफलका क्रममा नेपालको २०२६ मा हुने एलडीसी स्तरोन्नती र यसले नेपालको अन्तरराष्ट्रिय व्यापारमा पार्ने प्रभाव र निजी क्षेत्रको प्रतिस्पर्धात्मकत्मक क्षमता अभिवृद्धि लगायतका विषयमा छलफल हुने महासंघका अध्यक्ष ढकालले बताए ।
FACEBOOK COMMENTS