काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई आफूबारे उठाएका विषयमा छानबिन गर्न चुनौती दिएका छन् । उनले संसदमा उठाएका सबै विषयमा छानबिन समिति बनाउन माग गरे ।
आइतबार पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले यस्तो माग गरेका हुन् ।
थापाले भने, ‘हेर्नुस् त आज मलाई उहाँले के–के भन्नुभयो । म फेरि उहाँलाई अनुरोध गर्छु, लौ न तपाईंले एउटा छानबिन समिति बनाइदिनुस् । लौ न बनाइदिनुस् ।’
गृहमन्त्री लामिछानेलाई आफूले उठाएका सबै विषयमा धमाधम उठाउन थापाले आग्रह गरे । उनले भने, ‘मेरो छानबिन गर्छस् भने तेरो पनि फाइल खोल्दिऊँ भनेजस्तो गर्नुभयो,’ उनले भने, ‘धमाधम अनुसन्धान गर्ने हो, गल्ती गरेको रहेछ भने फैसला गराउने हो, कारबाही गर्ने हो ।’
सर्वदलीय वा रास्वपाका मानिसहरू मात्रै राखेर भए पनि छानबिन समिति बनाउन उनले गृहमन्त्रीलाई आग्रह गरे ।
