काठमाडौं । गत भदौ २३ र २४ गते नेपालमा भएको जेन–जी आन्दोलनका कारण पीडित बनेका एक भारतीय नागरिकले नेपालविरुद्ध दिल्ल उच्च अदालतमा मुद्दा दर्ता गराएका छन् ।
भारतीय विदेश मन्त्रालय, काठमाडौंस्थित भारतीय दूतावास र हायात रिजेन्सी होटेललाई विपक्षी बनाएर दर्ता गरिएको उक्त रिट निवेदनमा १०० करोड भारतीय रुपैयाँ क्षतिपूर्ति समेत माग गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार रणवीर सिंह गोला नाम गरेका व्यक्तिले भदौ २४ गते काठमाडौंस्थित हायात रिजेन्सी होटेलमा आगजनी भएपछि उद्धार नहुँदा भाग्ने क्रममा चौथो तलाबाट खसेर आफ्नी पत्नी राजेश गोलाको मृत्यु भएको भन्दै उक्त रिट निवेदन उच्च अदालतमा दर्ता गराएका हुन् ।
उनले होटेल प्रशासनले सुरक्षा दिने आश्वासन दिएर चेकआउट गर्न नदिएको, माथिल्लो तलामा पठाएको तर आपतकालीन व्यवस्थापन नगरेको आरोप लगाएका छन् । साथै, भारतीय विदेश मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावाससँग पटक–पटक सहयोग माग्दा पनि कुनै सहायता नपाएको रिट निवेदनमा उल्लेख छ ।
सोमबार दिल्ली उच्च अदालतका न्यायाधीश पुरुषैन्द्र कुमार कौरवको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै नेपालमा भएको घटनामाथि अदालतको क्षेत्राधिकारबारे प्रश्न उठाएका छन् । अदालतले रिटमा संशोधन आवश्यक रहेको जनाउँदै आगामी सुनुवाइ २६ फेब्रुअरीसम्मका लागि स्थगित गरेको छ ।

FACEBOOK COMMENTS