काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन २०२६ शुक्रबारदेखि प्रारम्भ भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले एक विशेष समारोहका बीच उक्त डिजिटल प्रतियोगिताको विधिवत उद्घाटन गरेका हुन् ।
नेपालको बैंकिङ क्षेत्रमा प्रविधिको अत्याधुनिक प्रयोगलाई बढावा दिन गत वर्ष पहिलो पटक ह्याकाथन आयोजना गरेको बैंकले यस वर्ष यसको दोस्रो संस्करण सञ्चालन गरेको हो ।
प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको यस प्रतियोगितामा खुला आवेदनमार्फत विभिन्न उत्कृष्ट टोलीहरू छनौट भएका छन् ।
दुई चरणमा सञ्चालन हुने आवसिय प्रतियोगीतामा १४ टोलीहरुको सहभागीता रहेको बैंकले जनाएको छ । जसअन्तर्गत पहिलो चरणमा ३६ घण्टा लामो कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ । उक्त ह्याकाथन प्रतियोगीतामा सहभागि टोलीहरुको लागि आवसिय व्यवस्था रहेको छ । साथै, सहभागि प्रतियोगीहरुले ३६ घण्टासम्मको कोडिङ गर्नेछन् ।

सहभागी प्रतियोगीहरूले बैंकद्वारा निर्धारित विभिन्न विधा र विषयहरूमा केन्द्रित रही बैंकिङ सेवालाई अझ बढी सुरक्षित, सरल र प्रविधिमैत्री बनाउने नविनतम् अवधारणाहरु प्रस्तुत गर्नेछन् ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङका आगामी सम्भावित सेवाहरू र यस क्षेत्रमा देखापर्ने चुनौतीहरूको समाधान पहिल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले यस प्रतियोगिताबाट छनौट हुने उत्कृष्ट टोलीहरूलाई नगद पुरस्कार प्रदान गरिनुका साथै बैंकसँग व्यावसायिक सहकार्यको अवसरसमेत उपलब्ध गराइने जानकारी दिए ।