काठमाडौं । नेपाली जुत्ता उत्पादक गोल्डस्टार स्ट्राइड लिमिटेड र गोल्डस्टार जापान कम्पनी लिमिटेडबीच जापानी बजारमा गोल्डस्टार ब्रान्ड विस्तारका लागि रणनीतिक साझेदारी भएको छ।
साझेदारीपछि जापानी बजारका लागि उत्पादन, वितरण र ब्रान्ड प्रवर्द्धनमा दुवै कम्पनीले सहकार्य गर्ने जनाइको छ।
सम्झौतामा गोल्डस्टार स्ट्राइडका अध्यक्ष अमिर प्रताप जबरा र गोल्डस्टार जापानका प्रमुख कार्यकारी अधिकृत कावाशिमा मिजुकीले हस्ताक्षर गरेका छन्।
सम्झौताअघि गोल्डस्टार जापानका प्रतिनिधिले तीन पटक नेपाल आएर गोल्डस्टारका तीनवटै उत्पादन केन्द्रको निरीक्षण गरेको कम्पनीले जनाएको छ।
उनीहरूले उत्पादन प्रक्रिया, मेसिन, गुणस्तर नियन्त्रण प्रणाली र जनशक्तिको मूल्यांकन गरेका थिए।
कम्पनीका अनुसार त्यसपछि मात्र दीर्घकालीन साझेदारीको निर्णय गरिएको हो।
सम्झौताअनुसार जापानी बजारको आवश्यकताअनुसार जुत्ता उत्पादन, आधिकारिक वितरण, ब्रान्ड प्रवर्द्धन, बजार विस्तार र ग्राहक सेवामा दुवै कम्पनीले सहकार्य बताइएको छ।