काठमाडौँ । सुकुमबासी बस्ती खाली गराउने सरकारको निर्णयविरुद्ध विरोध प्रदर्शन भएको छ । एक्कासि आफूहरूलाई हटाउन लागेको भन्दै थापाथलीको बागमती किनार लगायत अन्य स्थानमा बस्दै आएकाहरूले शुक्रबार सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूको प्रदर्शनमा राष्ट्रिय जेनजी नागरिक अभियानलेसमेत साथ दिँदै प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा सहभागीहरुले विकासका नाममा उठिबास होइन अधिकार चाहिन्छ, गरिबमाथि अन्याय गर्न पाइँदैन, पुनर्वास विना हटाउने निर्णय मान्य छैन, वास्तविक सुकुम्वासीको पहिचान गर लगायतका प्लेकार्ड देखाउँदै सरकार विरोधी नाराबाजी गरेका थिए । राष्ट्रिय जेनजी नागरिक अभियानका सह–संयोजक अजय सोडारीले सुकुमबासीको हक हित र अधिकारका लागि आफूहरूको पूर्ण समर्थन रहेको बताए ।
उनले वर्तमान सरकारले डोजर चलाउने भनेर आतंक मच्चाएको धारणा राखे । वास्तविक सुकुमबासीको उचित व्यवस्थापन गरेर मात्रै अन्य कदम चाल्न उनले आग्रह गरे ।
यता शनिबार बिहानबाट सुकुमबासी बस्ती खाली गर्ने जानकारी आएपछि केहीले आफ्नो सामानहरू सार्न सुरु गरेका छन् । भूमिहीन दलित–सुकुमबासी र अव्यवस्थित बोसोवासीलाई बस्तीबाट हटाउने सरकारको निर्णयसँगै उनीहरुले सुकुमबासी बस्तीबाट सामान सार्न सुरु गरेका हुन् ।
प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमबासी बस्ती खाली गराउन निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशनसँगै शनिबार र आइतबार उपत्यकाभित्र रहेका सुकुमबासी बस्ती डोजर लगायत हटाउने तयारी भएको छ ।

सुकुम्वासी बस्ती आसपास प्रहरीले राख्न थाल्यो सीसीटीभी

प्रहरीले काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्ती आसपास क्षेत्रमा सीसीटीभी जडान गर्न थालेको छ । शनिबार थापाथलीसहितका सुकुम्वासी बस्ती हटाउँदा हुनसक्ने आपराधिक गतिविधिबारे जानकारी लिन प्रहरीले सीसीटीभी जडान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, सुकुम्वासी बस्तीको फोकस हुनेगरी सीसीटीभी जडान गरिएको हो ।प्रहरीले सीसीटीभी क्यामेराको निगरानी भने परिसर कार्यालय भद्रकालीबाट नै गर्नेछ ।
भोलिको कार्यक्रममा कुनै अवाञ्छित गतिविधि नहोस् भनेर प्रहरीले संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई पक्राउ गरेको छ ।
काठमाडौंका सुकुम्वासीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय घेराउको तयारी गरेसँगै त्यहाँ प्रहरी परिचालन गरिएको छ ।
थापाथलीलगायत स्थानका सुकुम्वासी प्रदर्शनका निम्ति शुक्रबार दिउँसो वनस्थलीस्थित रास्वपा कार्यालय जाने सूचना पाएपछि प्रहरी परिचालन गरिएको हो ।
रास्वपा कार्यालयको सुरक्षार्थ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
सरकारले उपयुक्त विकल्पबिना आफूहरूलाई हटाउन लागेको भन्दै सुकुम्वासी विरोध प्रदर्शनमा उत्रिएका छन् ।