काठमाडौ । नेपाल गुणस्तर परिषद्ले जुत्ताको गुणस्तर (खेलकुदमा प्रयोग हुने) मापदण्ड पारित गरेको छ ।
परिषद्का अध्यक्ष एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा आज बसेको १११औँ बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको खेलकुदमा प्रयोग हुने जुत्ताको गुणस्तर मापदण्ड पारित गरेको हो ।
विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने गर्दछ । मापदण्ड पारित भएसँगै अब नेपालमा उत्पादित खेलकुदमा प्रयोग हुने जुत्ताले गुणस्तरलाई ख्याल गर्नुपर्ने नेपाल गुणस्तर तथा नापतौल विभागका प्रवक्ता ज्योति जोशी भट्टले जानकारी दिए ।
जुत्तामा प्रयोग हुने रबर, विभिन्न प्रकारका कपडाको समेत गुणस्तर पारित भएको हो । गुणस्तरअनुसारको निर्माण भएको जुत्ता विदेशमा निर्यात गर्नसमेत सहज हुने विश्वास विभागले लिएको छ । यससँगै आजै विभागले ढलरहित सरसफाइ शौचालयको समेत गुणस्तर पारित गरेको छ ।
विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्को सदस्यसचिव विभागका महानिर्देशक हुने प्रावधान रहेको छ ।
विभागका महानिर्देशक दिीनानाथ मिश्रले विभागको प्राविधिक समितिले पारित गरेका गुणस्तरलाई मन्त्रीको अध्यक्षतामा रहेको गुणस्तर परिषद्मा पठाइने र सोही परिषद्ले अध्ययन गरेर पारित गर्ने प्रावधान रहेको बताए । जुत्ताको गुणस्तर पारित भएसँगै अब उक्त गुणस्तर प्रयोग गरी नेपालमा सञ्चालित उद्योगले जुत्ता उत्पादन गर्ने बाटो खुलेको छ ।
FACEBOOK COMMENTS