काठमाडौं । नेपाल हस्तकला महासंघले सरकारसमक्ष विभिन्न १३ बुँदे माग अगाडि सारेको छ ।
महासंघको ४१औं वार्षिक साधारणसभामार्फत महासंघका अध्यक्ष सुुरेन्द्र भाइ शाक्यले ती मागहरू राखेका हुन् । कोरोनाबाट प्रभावित हस्तकलाको निर्यात प्रवर्द्धनका लागि हालको नगद प्रोत्साहन दर कम्तीमा पनि डवल डिजिट गर्नुपर्ने र नगद प्रोत्साहन प्राप्त गर्ने प्रक्रिया एवम् कार्यविधि सरलीकृत गर्नुपर्नेलगायत माग महासंघको छ ।
महासंघको मागप्रति ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आफू सकारात्मक रहेको बताउँदै हस्तकला क्षेत्रको विकास, विस्तार र निर्यात प्रवर्द्धनका लागि पहल गर्ने आश्वासन दिएकी छिन् । महासंको ४१औं वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उनले महासंघले अघि सारेका माग सम्वोधनका लागि पहल गर्ने आश्वास दिएकी हुन् ।
साथै उनले स्वदेशमै उपलब्ध वस्तु आयात नर्गन पनि व्यवसायीलाई आग्रह गरेकी छिन् । त्यसरी आयात गर्दा व्यवसायीलाई फाइदा भए पनि राष्ट्रलाई घाटा हुने भन्दै नाफा मात्रै नहेर्न व्यवसायीलाई आग्रह गरेकी हुन् ।
महासंघले निर्यात हुने काष्ठजन्य हस्तकला सामान र सिपिङ कन्टेनर फुमिगेट गरी फुमिगेसन प्रमाणपत्र गरी गर्ने व्यवस्था हुनुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलगायत मालसामान आयात निर्यात हुने अन्य भन्सार कार्यालयलाई निर्यातमैत्री बनाइनुपर्ने, अन्तर्राष्ट्रिय बजारमा नेपाली हस्तकलाको पहिचान स्थापित गरी प्रवर्द्धन गर्न हस्तकला वस्तुमा सामूहिक व्यापार चिह्नको विकास र प्रचार–प्रसारमा सहयोग गर्नुपर्ने माग गरेको छ ।
त्यस्तै सात वटै प्रदेशमा हस्तकला ग्राम स्थापनाका लागि विद्युत्, सडक र पानीलगायत आवश्यक भौतिक पूर्वाधारको पहुँच भएको क्षेत्रमा जग्गा उपलब्ध गराउनुपर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत बोर्ड अफ ट्रेड र भन्सार विभागअन्तर्गत निकासी सहजीकरण समितिमा महासंघको पनि प्रतिनिधित्व हुुनुपर्ने, चीनमा व्यापार, व्यवसाय र व्यापार मेला सहभागिताबाट आर्जित विदेशी मुद्रा बैकिङ च्यानलबाट नेपाल ल्याउन पाउने व्यवस्था गरिनुपर्ने, सरकार तथा विदेशस्थित नेपाली दूतावासलागयत सबै सरकारी निकायमा नेपाली हस्तकला प्रयोग गरिनुपर्ने, स्वदेशी वस्तु प्रवर्द्धनका लागि निजामती कर्मचारीहरूलाई स्वदेशी कपडाबाट बनेका पोशाकलाई अनिवार्य गरिनुपर्नेलगायत माग महासंघको छ ।
कार्यक्रममा काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चिरीबाबु महर्जनले हस्तकलाको विकास, विस्तार र प्रवर्द्धनका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । मेयर शाक्यले हस्तकलाको औद्योगिक ग्रामका लागि जग्गाको व्यवस्था गरेमा महानगरपालिकाले पूर्वाधार निर्माणमा सहयोग गर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह र नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लले पनि निर्यात व्यापारमा हस्तकलाको महत्वपूर्ण योगदान रहेको भन्दै हस्तकलाको प्रवर्द्धन सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
FACEBOOK COMMENTS