काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । स्वास्थ्य बीमामा देखिएका विभिन्न जटिलतालाई सुधार गर्दै लैजाने उनले प्रतिबद्धता व्यक्त गरे ।
नेपाल औषधि थोक व्यवसायी सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमामा चुनौती देखिए पनि यसलाई हटाउनेभन्दा पनि सुधारोन्मुख बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा व्यवस्थित हुन सकेको छैन । यसमा विभिन्न समस्या देखिएका छन् । यसलाई हटाउने होइन, व्यवस्थित गर्न चाहिरहेका छौँ । बीमा भुक्तानीमा पनि समस्या देखिएका छन् । दाबीभन्दा पनि बढी देखिएको छ । बीमा सुधारका लागि प्रतिवेदन तयार भएको छ, त्यहीअनुसार कार्यान्वयनमा लैजान्छौँ ।”
मन्त्री पौडेलले समग्र उपचार प्रणालीलाई नै व्यवस्थित गर्न विद्युतीय प्रणालीलाई बलियो बनाउन मन्त्रालय लागिपरेको बताए ।
सङ्घका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले थोक औषधि व्यवसायीले औषधिको खरिद, भण्डारण, वितरण गुणस्तरताको सुनिश्तिता, स्वास्थ्य सेवा प्रदायकलाई निरन्तर औषधि उपलब्ध गराउने, औषधिको मूल्य स्थिर र सन्तुलन कायम राख्न विशेष भूमिका निर्वाह गर्दै आइरहेको बताए । उनले संशोधनको क्रममा रहेको औषधि ऐनमा औषधि थोक व्यवसायीको हकहितका कुरा समेटिनुपर्ने धारणा राखे ।
“औषधि आयातकर्ताबाट समय नाघेको र टुटफुट भएको औषधि क्रेडिट नोट समयमा नआउँदा थोक व्यवसायीको ठूलो रकम आयातकर्ताकोमा फ्रिज हुने प्रवृत्तिले थोक व्यवसायी कारोबार गर्दा करको मारमा पर्ने गरेका छन् । यसमा सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण पुगोस्”, मन्त्री पौडेलले भने ।
FACEBOOK COMMENTS