काठमाडौं । उच्च शिक्षाको गुणस्तर सुधारका लागि विश्वविद्यालयमा शिक्षक भर्ना, विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी र परिणाममुखी बनाउनुपर्ने निष्कर्षसहित दुईदिने नीति कार्यशाला सम्पन्न भएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यशालामा विश्वविद्यालयका उपकुलपति, शिक्षाविद्, अनुसन्धानकर्ता, नीतिनिर्माता तथा विज्ञहरूको सहभागिता थियो । कार्यशालामा विश्वविद्यालयले समयानुकूल नीति तथा कानुनको समीक्षा गरी प्रमाण र तथ्यमा आधारित निर्णय प्रणाली विकास गर्नुपर्नेमा जोड दिइयो।
योग्य जनशक्तिलाई विश्वविद्यालयमा प्रवेश गराउने, अनुसन्धान, शिक्षण, नवप्रवर्तन तथा सामाजिक उत्तरदायित्वलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको सहभागीहरूले बताएका छन् । साथै, अन्तरविश्वविद्यालय असल अभ्यास आदानप्रदान र अनुसन्धानकेन्द्रित उच्च शिक्षा विकासमा जोड दिइएको छ ।
शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया पारदर्शी, निष्पक्ष र समान मापदण्डमा आधारित हुनुपर्ने बताउँदै विश्वविद्यालयको सञ्चालन तथा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।
कार्यशालामा विश्वविद्यालय र मन्त्रालयबीचको समन्वय बलियो बनाउने, शैक्षिक क्यालेन्डर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा विश्वविद्यालयलाई सक्षम र गुणस्तरीय संस्थाका रूपमा विकास गर्न आवश्यक नीतिगत र कानुनी सुधार अघि बढाउने विषयमा छलफल भएको थियो ।