आजभोलि धेरै चर्चा अनि केही त्रसित बनाइरहेको एचएमपीभी भाइरसले समाचारमा विशेष स्थान बनाउँदै आइरहेको छ । अझ भारतीय सञ्चारमाध्यमहरूमा एकपछि अर्कोमा सङ्क्रमण पुष्टि हुँदै गइरहेको भन्ने समाचारले नेपालमा समेत यो भाइरसप्रति चासो ह्वात्तै बढेको देखिन्छ । यो भाइरसले खासगरी हालै चीनमा सयौँ मानिस बिरामी बनाएको, अस्पताल भरिएको, अनि मृत्युसमेत गराइरहेको भनिएको छ ।
चीनमा नै पहिलो पटक देखिएको कोभिड-१९ ले नेपाललगायत विश्वमा हजारौँ मानिसको मृत्यु गराएको केही वर्ष मात्र भएको हुँदा फेरि चीनमा फैलिएको भनिएको यो भाइरसले कतै कोभिड-१९ को बेलामा जस्तो अवस्था फर्काउने त होइन भन्ने चर्चा, जिज्ञासा अनि त्रासले सबैलाई तरङ्गित बनाएको छ । वास्तवमा चीनमा देखिएको भनिएको भाइरस के हो ? बन्दाबन्दी (लकडाउन) को सम्भावना कति छ ? कोभिड-१९ मा जस्तै मानवीय क्षति भोग्नुपर्ने अवस्था सिर्जना हुने त होइन भन्ने जस्ता जिज्ञासाहरू यतिबेला सर्वसाधारणमा उत्पन्न भएको देखिन्छ ।
कस्तो हो एचएमपीभी भाइरस ?
एक शब्दमा भन्नुपर्दा रूघाखोकी गराउने भाइरस हो भन्न सकिन्छ । खासगरी ‘कमन कोल्ड’ वा ‘फ्लू’ को जस्तो लक्षणहरू यो भाइरस सङ्क्रमित बिरामीमा देखिने गर्दछ । अर्थात् यो भाइरसलाई श्वासप्रश्वाससँग सम्बन्धित सङ्क्रमण पनि भन्न सकिन्छ । यो भाइरस पहिलो पटक सन् २००१ मा मानवमा पुष्टि भएको थियो । विशेषतः बालबालिकाहरू यो भाइरसबाट प्रभावित हुने भनिए तापनि ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू पनि उत्तिकै प्रभावित हुन सक्ने विभिन्न अनुसन्धानहरूले देखाएका छन् । जाडो महिनामा यो भाइरस बढी सक्रिय हुने भए पनि १२ महिना नै देखिने गर्दछ । सङ्क्रमण गरेको तीनदेखि छ दिनमा लक्षणहरू देखिने गर्दछ । सुरूआतीमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, नाकबाट पानी आउने वा बन्द हुने तथा श्वासप्रश्वासमा समस्या देखिने गर्दछ । निमोनिया, ब्रोनकाइटिसजस्ता जटिलताहरू देखिने गर्दछ । विशेषतः सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा, हात मिलाउँदा, सङ्क्रमित व्यक्तिको मुखको छिटा कुनै वस्तुमा रहेको र अर्को व्यक्तिले सो वस्तु छोएर सो हातले नाक, मुख अनि आँखामा छुँदा यो भाइरस सर्न सक्दछ ।
एचएमपीभी भाइरसविरूद्ध विशेष एन्टिभाइरल औषधि छैन भने खोपको विकास पनि भइसकेको छैन । लक्षण तथा जटिलताका आधारमा यसको उपचार हुने गर्दछ । यो भाइरसको सङ्क्रमणबाट बच्न उत्तम उपाय भनेको विशेषगरी व्यक्तिगत सरसफाइमा नै ध्यान दिनु हो । यसको सर्ने तरिका धेरै हदसम्म कोभिड-१९ को जस्तै भएकाले बच्ने उपाय पनि उस्तै हुने गर्दछ । हात साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म धुने, सङ्क्रमित व्यक्तिको नजिक नजाने, हातलाई नाक, मुख र आँखामा घरिघरि नलग्ने, खोक्दा वा हाच्छिउँ गर्दा हातको बाहुलीले छोपेर मात्र गर्ने, सार्वजनिकस्थलमा सकेसम्म नजाने र जानैपर्ने अवस्थामा मास्क लगाउने र फर्केपछि राम्ररी हात साबुनपानीले धुने गर्नुपर्दछ ।
कस्तो छ छिमेकी मुलुकमा एचएमपीभी भाइरसको प्रभाव ?
अहिलेसम्म न त चीन सरकार न त विश्व स्वास्थ सङ्गठनले नै अधिकारिक रूपमा एचएमपीभी भाइरसले गर्दा चीनमा महामारीको अवस्था सिर्जना भएको छ भनेर स्वीकार गरेको छ । अझ हालै रोयटर्सको ‘फ्याक्ट चेक’ को विश्लेषणले एचएमपीभी भाइरसले गर्दा चीनमा महामारीको अवस्था नआएको अनि स्वास्थ आपतकाल पनि घोषणा नगरिएको भन्ने तथ्य सार्वजनिक गरेको थियो । जाडो महिनामा विशेषतः श्वासप्रश्वाससँग सम्बन्धित लक्षणहरू देखिने हुँदा त्यसका कारक मानिने फ्लू, कोभिड-१९, आरएसभी भाइरस, माइकोप्लाज्मा निमोनियाजस्ता सङ्क्रमणहरू भने देखिएको भनिएको छ । यी सङ्क्रमणहरू सामान्यतया हरेक वर्षजसो जाडो महिनामा चीनमा मात्र नभएर नेपाललगायत विश्वका विभिन्न देशहरूमा देखिने गर्दछ ।
कोभिड-१९ ‘प्यान्डेमिक’ को समयमा भारतमा नयाँ ‘भेरियन्ट’ देखिँदा त्यसको केही हप्तामा नेपालमा पनि देखिने गर्दथ्यो । त्यसो हुनाले चीनमा महामारीको रूप लिएको भनिएको एचएमपीभी भाइरस भारतमा पनि देखिएको समाचारले पक्कै पनि नेपाल तरङ्गित नहुने भन्ने कुरै भएन । तर, एचएमपीभी भाइरस भारत तथा नेपालका लागि कुनै नौलो भाइरस भने होइन । यो भाइरस वास्तवमा विगतका वर्षहरूमा गरिएका विभिन्न अनुसन्धानबाट समुदायमा रहेको पुष्टि हुँदै आइरहेको थियो ।
नेपालमा गरिएका केही अनुसन्धानहरूले चारदेखि १३ प्रतिशतसम्म बिरामीमा यो भाइरस पुष्टि हुने गरेको देखाएको छ । यस अर्थमा पनि हाल भारतमा एकपछि अर्को एचएमपीभी भाइरस देखिनुमा कुनै विशेष वा त्रसित हुनुपर्ने आधार देखिँदैन । जाडो महिनामा यो भाइरसको परीक्षण नियमित गर्ने हो भने हरेक वर्षजसो नै देखिने सम्भावना प्रबल रहन्छ । नेपालमा पनि अहिले (जाडो महिनामा) परीक्षण गर्ने हो भने भारतमा जस्तो एकपछि अर्कोमा देखिने सम्भावना रहन्छ । यस हिसाबले भाइरस देखिनु आफैँमा महत्त्वपूर्ण वा त्रसित हुनुपर्ने अवस्था होइन तर यसको प्रभावले ठूलो प्रकोपको रूप लिन्छ वा लिँदैन भन्ने कुरा विशेष रूपमा लिनुपर्दछ । यद्यपि, सङ्क्रमण हुनु आफैँमा राम्रो भने होइन । तसर्थ, यसबाट बच्ने उपायलाई भने कार्यान्वयन गर्नु उचित हुन्छ किनभने बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूका लागि भने कहिलेकाहीँ यो भाइरसले घातक अवस्था सिर्जना गर्न सक्दछ ।
कस्तो अवस्थामा हुन सक्छ एचएमपीभी भाइरस बढी सङ्क्रामक ?
कुनै पनि सरूवा रोग कहिले पनि बढी सङ्क्रामक वा घातक हुँदैन भन्न सकिँदैन । कतिपय सङ्क्रमणहरू कहिले सामान्य त कहिले घातक हुने गरेको विगतका अनुभवहरू छन् । विशेषतः सङ्क्रमणको जिनमा नै परिवर्तन भए बढी सङ्क्रामक वा घातक हुने सम्भावना बढेर जान्छ । जस्तैः कोभिड-१९ निरन्तर र छिटो-छिटो जिनमा परिवर्तन हुँदा/देखिँदा बहु-लहर देखिनाका साथै थप सङ्क्रामक वा घातक भेरियन्टका रूपमा जन्म भएको थियो । यसर्थ, एचएमपीभी भाइरसमा यस्तै (कोभिड-१९ मा जस्तै) अवस्था नआउला भन्न सकिँदैन । श्वासप्रश्वाससँग सम्बन्धित भाइरसहरू विगतमा अनि भविष्यमा पनि सम्भावित प्यान्डेमिक सङ्क्रमणका रूपमा हेरिँदै आइरहेको रोग हो । हाल एचएमपीभी भाइरसलाई सामान्य रोगका रूपमा लिएको भए तापनि भविष्यमा बढी सङ्क्रामक तथा घातक नहोला भनेर भन्न सकिने अवस्था होइन । तसर्थ, यो भाइरसको नियमित र निरन्तर निगरानी आवश्यक देखिन्छ ।
अन्तमा, एचएमपीभी भाइरस खासगरी जाडो महिनामा बढी सक्रिय भई फ्लूजस्तो लक्षण देखाउने एक सरूवा रोग हो । हाल चीनमा यो भाइरसलाई महामारीको कारक मानिएको हल्ला व्यापक भए पनि यसको विश्वसनीय अधिकारिक पुष्टि भने हुन सकेको छैन । भारत तथा नेपालका लागि यो भाइरस नौलो होइन । तसर्थ, हाल भारतमा एकपछि अर्कोमा देखिँदै आइरहेको भनिएको एचएमपीभी भाइरस अनुमानित नै मान्नुपर्दछ । तर, भारतमा अस्वाभाविक अस्पताल भर्ना गर्नुपर्ने बिरामी सङ्ख्यामा वृद्धि वा मृत्यु भएको अवस्था नदेखिएमा नेपाल त्रसित हुनुपर्ने कुनै आधार देखिँदैन । नेपालमा जाडो महिना लागेसँगै बालबालिकाहरूमा फ्लूको जस्तो लक्षणहरू देखिन सुरू भइसकेको छ । तसर्थ, नेपालमा पनि फ्लूसँगसँगै एचएमपीभी भाइरसको प्रयोगशाला परीक्षण गरियो भने भारतमा जस्तै नेपालमा पनि एकपछि अर्कोमा यो भाइरस नदेखिएला भन्न सकिँदैन, जुन हाम्रो लागि अनुमानित मान्नुपर्दछ ।
(लेखक शुक्रराज ट्रोपिकल तथा सरूवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)
FACEBOOK COMMENTS