काठमाडौँ । नेपालमा अब जुन पायो त्यही विद्युतीय सवारी साधन (ईभी) आयात र बिक्री गर्न नपाइने भएको छ । मनलाग्दी ईभीको आयात र बिक्री भइरहेको अवस्थामा सरकारले अब यसलाई नीतिगत रूपमै व्यवस्थित र नियमन गर्ने भएको हो । त्यसका लागि सरकार छुट्टै मापदण्ड बनाउने तयारीमा लागेको छ ।
नेपालमा अहिले मापदण्डबिना नै ईभीको आयात र बिक्री भइरहेको छ । धेरै आयातीत सवारी साधनको सर्भिसिङ, चार्जिङ स्टेशन, स्पेयर पार्टस उपलब्ध छैनन्, साथै कतिपय गाडी नेपाली भौगोलिक अवस्थासुहाउँदो नहुनाले उपभोक्ताले जोखिम बेहोर्नु परेको छ । केही गाडीमा आगलागी हुने तथा ब्याट्रीमा समस्याका घटनाहरू पनि देखिएका छन् । ईभीको गुणस्तर परीक्षण हुने गरेको छैन । ईभी व्यवसायीहरू उपभोक्ता हितभन्दा नाफातिर बढी केन्द्रित भएका छन् ।
यी समस्यालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभागले कार्यदल बनाएर गुणस्तर, रेञ्ज र भौगोलिक अनुकूलताका आधारमा विद्युतीय गाडी आयातको मापदण्ड बनाउने तयारी गरिरहेको हो । विभागका अनुसार अब निर्धारण गरिने मापदण्डभित्र रहेर मात्र ईभी आयात गर्न पाइनेछ ।
हालसम्म सवारी यातायात व्यवस्था ऐन, २०४९ मा विद्युतीय गाडीसम्बन्धी कुनै व्यवस्था नरहेकाले नियम बनाउन कठिनाइ भइरहेको छ । तर, सरकार अब राष्ट्रिय मापदण्ड निर्माण गरी ऐन संशोधनमार्फत ईभी क्षेत्रलाई व्यवस्थित गर्ने तयारीमा छ ।
FACEBOOK COMMENTS