काठमाडौं । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले २५ वर्ष पुराना संवेदनशील मुद्दाहरू ब्युँताउने सरकारी कदमलाई निष्पक्ष न्यायको खोजीभन्दा पनि राजनीतिक रणनीति भएको दाबी गरेका छन् ।
नेपाली राजनीतिमा सत्ता सङ्कट वा जनआक्रोश बढ्नेबित्तिकै पुराना इतिहासका फाइलहरूलाई हतियारका रूपमा प्रयोग गर्ने प्रवृत्ति दोहोरिने गरेको भन्दै उनले गृहमन्त्री सुधन गुरुङको पछिल्लो निर्णय पनि त्यही पुरानो शैलीको निरन्तरता भएको आरोप लगाएका छन् ।
रायमाझीले यो कदमलाई ‘कानुनी राज्यको उपहास’को संज्ञा दिँदै वर्तमान राजनीतिक नेतृत्वको नियतमाथि गम्भीर प्रश्न उठाएको टिप्पणी गरेका छन् । उनका अनुसार अहिलेको कदम न्यायको नाममा गरिएको भए पनि यसको भित्री उद्देश्य राजनीतिक लाभ हासिल गर्नु हो ।
पूर्वराजाप्रति बढ्दो समर्थन र राजनीतिक असहजता
उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति पछिल्ला वर्षहरूमा देखिएको जनआकर्षण र देशका विभिन्न स्थानमा देखिने स्वत:स्फूर्त समर्थनले वर्तमान राजनीतिक दलहरूमा असहजता बढाएको बताएका छन् । ‘वर्तमान दलहरूको विकल्पका रूपमा वा अभिभावकीय संस्थाको रूपमा पूर्वराजालाई हेर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ,’ रायमाझीले भने ।

यही परिस्थितिले सत्ता पक्षलाई दबाबमा पारेको र त्यसकै प्रतिउत्तरस्वरूप पुराना मुद्दाहरूलाई ब्युँताएर ध्यान मोड्ने प्रयास भएको हुन सक्ने अनुमान उनको छ । रायमाझीले यसलार्ई जनआक्रोश डाइभर्ट गर्ने रणनीतिका रूपमा अर्थ्याएका छन् ।

आर्थिक मन्दी, बेरोजगारी र भ्रष्टाचारका विषयमा सरकार असफल भइरहेको अवस्थामा जनताको ध्यान अन्तै मोड्न यस्तो कदम चालिएको हुन सक्ने उनको दाबी छ । कुनै ठोस नतिजा नआउने पुराना मुद्दामा अनुसन्धानको नाममा ‘सस्तो लोकप्रियता’ खोज्ने प्रवृत्ति देखिएको उनको बुझाइ छ ।

‘न्यायको आवरणमा राजनीतिक स्वार्थ’
रायमाझीले न्याय र ऐतिहासिक सत्यको खोजी आफैँमा गलत नभए पनि त्यसलाई राजनीतिक प्रतिशोधको माध्यम बनाइए विधिको शासन कमजोर हुने चेतावनी दिएका छन् । ‘जब सरकार आफ्ना कमजोरी लुकाउन असफल हुन्छ, तब इतिहासका चिहान खनेर राजनीतिक अस्त्र बनाइन्छ,’ उनको टिप्पणी उद्धृत गर्दै उल्लेख छ । उनले वर्तमान सरकारलाई इतिहासका मुद्दामा होइन, भ्रष्टाचार नियन्त्रण, आर्थिक सुधार र जनजीविकासँग सम्बन्धित तत्कालीन समस्यामा ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् ।
प्रत्युत्पादक हुने चेतावनी
रायमाझीले यस्तो रणनीति दीर्घकालमा सरकारका लागि प्रत्युत्पादक हुन सक्ने चेतावनी पनि दिएका छन् । उनका अनुसार जनता अब सचेत भएकाले राजनीतिक उद्देश्यका लागि गरिने कुनै पनि ‘हिलो छ्याप्ने’ प्रयास उल्टै असर पार्न सक्छ । उनले भनेका छन्, ‘यदि सरकार गम्भीर छ भने वर्तमान समस्याहरू समाधानतर्फ ध्यान दिनुपर्छ, इतिहासलाई राजनीतिक हतियार बनाउनु हुँदैन ।’