काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो शतक प्रहार गरेका छन् ।
भुर्तेलले शनिबार आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध शतक प्रहार गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक पूरा गरेका हुन् । भुर्तेलले यसअघि सन् २०२३ मा लिग–२ अन्तर्गतै त्रिवि रंगशालामा नामिबयाविरुद्ध ११५ रन बनाउँदै पहिलो शतक दर्ता गरेका थिए ।
१०० रन बनाएका उनले शतक पूरा गर्ने क्रममा १२ चौका र तीन छक्का प्रहार गरे । भुर्तेलले पहिलो विकेटको निम्ति ओपनर आशिफ शेखसँग १४५ रनको शतकीय साझेदारी गरेका थिए । उनीसँग हाल क्रिजमा रहेका इशान पाण्डे आठ रनमा खेलिरहेका छन् ।
इशानले पनि आज अमेरिकाविरुद्ध खेल्दै नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन् । जारी खेलको ३२.३ ओभरमा आशिफको अर्धशतकमा नेपालले एक विकेट गुमाएर १६७ रन बनाएको छ ।