काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले मुलुकको अर्थततन्त्रमा धितोपत्र बजारको स्थान महत्वपूर्ण बन्दै गएको बताएका छन् ।
विश्व वित्तीय सप्ताह (ग्लोबल मनी वीक–२०२२) को अवसरमा नेपाल धितोपत्र बोर्डले आयोजना आइतबार गरेको वित्तीय साक्षरतासम्बन्धी प्रभातफेरी कार्यक्रममा सहभागी भएका अर्थमन्त्री शर्माले पछिल्लो समय धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता उल्लेख्य बढ्दै गएका कारण अर्थतन्त्रमा धितोपत्र बजारको स्थान महत्वपूर्ण बन्दै गएको बताएका हुन् ।
‘वित्त परिचालन गर्ने संस्थाहरूले यस्तो (प्रभातफेरी) जस्ता कार्यक्रमहरू तल्लो जनसमुदायसमेत लाभान्वित हुनेगरी दूरदराजसम्म पुर्याउनुपर्ने आवश्यकता रहेको छ,’ मन्त्री शर्माले भने, ‘पछिल्लो समय धितोपत्र बजारको आकार र यसमा सर्वसाधारणको उल्लेख्य सहभागिता बढ्दै गएका कारण धितोपत्र बजारको अर्थतन्त्रमा महत्वपूर्ण स्थान रहेको छ ।’ पुँजी बजारको बारेमा आज सर्वसाधारणलाई बुझाउन आवश्यक रहेको धारणा मन्त्री शर्माको छ ।
उनले धितोपत्र बजारमा विविध खालको समस्या रहेको बताउँदै उक्त समस्याहरूको समाधान गर्दै बजारको गुणात्मक विकास तथा विस्तारको लागि नयाँ नेतृत्व पठाएको र उनीहरूलाई निर्देशन समेत दिएको स्मरण गराए । यसका लागि अर्थ मन्त्रालयले पर्याप्त मात्रामा सहजीकरण गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
मन्तव्यकै क्रममा उनले हालको नयाँ नेतृत्वले नयाँ प्रतिबद्धतासहित नयाँ संरचना तथा योजनासहित बजारको विकास तथा विस्तारका लागि कार्य गर्नुपर्ने र नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री एवम् आधुनिक बनाउनाका साथै बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा विकास गर्न सम्बद्ध सबै पक्षलाई निर्देशन समेत दिएका छन् । वित्तीय अज्ञानताका कारण विविध खालका समस्या उत्पन्न हुने र आरोप प्रत्यारोपहरू लाग्ने हुँदा सर्वसाधारणलाई बुद्धिमतापूर्वक निर्णय लिन सक्षम बनाउन साक्षरता सम्बन्धी कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गर्न समेत निर्देशन मन्त्री शर्माले दिएका छन् ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडीएससी, रेटिङ्ग एजेन्सी तथा मर्चेन्ट बैंकर्स एशोसियसनले प्रकाशन गरेका वित्तीय साक्षरता तथा धितोपत्र बजारसम्बन्धी जानकारीमुलक पुस्तिकाहरूको समेत विमोचन गरिएको थियो ।
यो पनि पढ्नुहोस्–
धितोपत्र बोर्डले गर्यो वित्तीय साक्षरतासम्बन्धी प्रभातफेरी, पुँजी बजारसँग सम्बन्धित सबै संस्थाको सहभागिता
FACEBOOK COMMENTS