काठमाडौं । ज्योति विकास बैंकले आज बिहीबार लहान र कटारीमा थप दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो ।
लहान नगरपालिका–८ सिरहास्थित लहान शाखाको समुद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोकलाल अमात्य र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए ।
साथै, कटारी नगरपालिका–४ उदयपुरस्थित कटारी शाखाको समुद्घाटन कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र बैंकका सञ्चालक सुरेन्द्रबहादुर नेपालीले संयुक्त रुपमा गरेका थिए ।
उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरू, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।
नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले लहान र कटारी शाखाका ग्राहकहरुको निमित्त शून्य मौज्दातमै क्यूआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा , सबै मुद्दती निक्षेपहरूमा साप्ताहिक र मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छूटलगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ ।
FACEBOOK COMMENTS