काठमाडौं । काठमाडौँको चाबहिस्थित केएल टावरले दसैँतिहारको अवसरमा आयोजना गरेको ‘रमाइलो दसैं-तिहार उपहार योजना’ का विजेतालाई उपहार प्रदान गरेको छ ।
शनिबार आयोजित समारोहका बीच विजेताहरूलाई उपहार योजनाअन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो ।
गत असोज १३ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन गरिएको सो उपहार योजनाअन्तर्गतको बम्पर उपहार कुपन नम्बर ६९३९ का फुर्वा शेर्पाले जितेका छन् । शेर्पालाई सीजी मोटर्स प्रालि (हिरो) का सिनियर म्यानेजर प्रदीप पालले स्कुटरको चाबी हस्तान्तरण गरे ।
उपहार योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक योजनाअन्तर्गत विभिन्न उपहार राखिएको थियो भने एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप हिरो ब्राण्डको जुम स्कुटर जित्ने मौका दिइएको थियो ।
यस्तै, दैनिक तथा साप्ताहिक योजनामा सहभागी भई गोलाप्रथामार्फत विजेता बनेका ४० जनालाई टेक्नो स्मार्टफोन, अल्टिमा लाइफस्टाइलका घडी तथा एयर बड्स, बाल्ट्राका घरायसी उपकरण, सफारी ब्राण्डका लगेज तथा ब्याग, एभरेस्ट ब्राण्डका साइकल वितरण गरिएको छ । केएल टावरका प्रमुख कार्यकारी अधिकृत रमेश कक्षपतिले विजेताहरूलाई उपहार हस्तान्तरण गरेका थिए ।
केएल टावरका सबै पसल तथा आउटलेटमा कम्तीमा एक हजार रूपैयाँ वा सोभन्दा बढीको सपिङ गर्नेहरूलाई उपहार योजनामा सहभागी गराइएको थियो । सपिङका क्रममा उपलब्ध गराइएका सबै भौचरमध्येबाट गोलाप्रथा गरी विजेता चयन गरिएको हो ।
सेलिब्रेशन अवधिमा केएल टावरमा करिब साढे दुई लाख उपभोक्ता पुगेकामा १७ हजारभन्दा बढीले एक हजार रूपैयाँभन्दा बढी मूल्यको सामान खरिद गरी सेलिब्रेसशमा सहभागिता जनाएका थिए ।
बम्पर उपहार विजेता शेर्पालाई चाबी हस्तान्तरण गर्दै सीजी मोटर्सका सिनियर म्यानेजर पालले ब्राण्ड प्रवर्द्धनमा केएल टावरसँग गरिएको सहकार्य फलदायी भएको बताए ।
यस्तै, केएल टावरका प्रमुख कार्यकारी अधिकृत कक्षपतिले उपभोक्तालाई सबै वस्तु तथा सेवा एकै छानामुनि सुपथ मूल्यमा उपलब्ध गराउन तथा केएल टावरको व्यापार प्रवर्द्धनका लागि उपहार योजना सञ्चालन गरिएको बताए । आगामी वर्षहरूमा पनि यस्ता अभियानलाई निरन्तरता दिँदै जाने योजना रहेको उनले जानकारी दिए ।
काठमाडौंको चाबहिलस्थित चुच्चेपाटीमा रहेको केएल टावरमा सिनेमा हल, बैंक्वेट, रेस्टुरेन्ट, फुड कोर्ट, गेम जोन, १५ वटाभन्दा बढी मल्टिनेशनल ब्राण्ड, इलेक्ट्रोनिक्स तथा मोबाइल आउटलेट, कपडालगायतका ७० वटाभन्दा बढी पसल छन् ।
FACEBOOK COMMENTS