काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमाले नेता महेश बस्नेतले जेनजीहरूलाई ‘आतंककारी’ भनेपछि राजनीतिक माहोल फेरि तातिएको छ।
यसैबीच, जेनजीहरूले अक्टोबर ९ (असोज २३) मा राजधानीमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। जेनजीहरूको भनाइअनुसार, सहिदको बलिदानबाट आएको परिवर्तनलाई केही शक्तिहरूले हाइज्याक गर्ने प्रयास गरेका छन्।
उनीहरूले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, संघीयताको खारेजी र आन्दोलनका क्रममा भएको दमन तथा हत्या घटनामा संलग्नलाई तत्काल कारबाही गर्न माग राखेका छन्। यसअघि ओली सरकारले सामाजिक सञ्जालमा आफ्ना मान्छेहरूलाई प्रभाव नजमाएपछि फेसबुकलगायतका प्लेटफर्मलाई बन्द गराएर दमन गरेको जेनजीहरूको आरोप छ।
साथै, जेनजीहरूले सरकार र परम्परागत नेताविरुद्ध “झोले“ नामक नयाँ ट्रेन्ड सामाजिक सञ्जालमार्फत् सुरु गरेका छन्। त्यस यता नेपाली कांग्रेसले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई दलहरूमाथि
प्रतिशोधपूर्ण राजनीति नगर्न चेतावनी दिएको छ। कांग्रेसले आइतबार एक विज्ञप्ति जारी गर्दै दण्डहीनतालाई प्रोत्साहन गर्ने र दलहरूलाई लक्षित गरेर पूर्वाग्रही ढंगले काम गर्न थालेको आरोप लगाएको हो।
कांग्रेसका अनुसार, भदौ २३ र २४ गतेका घटनाको छानबिन प्रारम्भ नहुँदै सरकारले गैरकानूनी र गैरसंवैधानिक कदम चाल्दै आएको छ। विज्ञप्तिमा भनिएको छ, “मानव अधिकार र व्यक्तिगत स्वतन्त्रतामाथि
प्रत्यक्ष अघात पुग्ने गरी आयोगलाई नभएको अधिकार प्रयोग गराउने, राहदानी रोक्का गर्ने तथा आफ्नै मुलुकभित्र आवतजावतमा समेत रोक लगाउने” कार्यहरू सरकारको प्रतिशोधी चरित्रको प्रमाण भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस किसिमका निर्णयहरूले सरकार आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्ने भन्दा फरक बाटोमा लागेको देखिन्छ।
तसर्थ, दण्डहीनतालाई प्रोत्साहन र दलहरूमाथि प्रतिशोधपूर्ण राजनीति नगर्न नेपाली कांग्रेस अन्तरिम सरकारलाई सचेत गराउँदछ।”
FACEBOOK COMMENTS