काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो असार मसन्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत आवको असार मसान्तसम्ममा बैंकको नाफा २९.५२ प्रतिशत घटेर २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ रहेको छ । गत आवको सोहो अवधिमा बैंकको नाफा ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड १५ लाख रुपैयाँ रहेको छ । यस्तै बैंकको सञ्चालन नाफा २४.३२ प्रतिशतले घटेर ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
गत आवको असार मसान्तसम्म कर्जा नोक्सानी व्यवस्थाका लागि १ अर्ब १७ करोड २६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा ६३ करोड ७ लाख रुपैयाँ रहेको थियो ।
गत आवको असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब २६ करोड २१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा ५५.१९ प्रतिशतले घटेको छ ।
बैंकको अग्रधिकार सेयर पुँजी ५ अर्ब ४३ करोडसहित चुक्ता पूँजी १९ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १९ अर्ब १६ करोड ८० लाख रुपैयाँ रहेको छ ।
३ खर्ब ४७ अर्ब २१ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ४७ अर्ब १४ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।
बैंकको निष्कृय कर्जा ३.४४ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी १६.११ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३१.७१ रुपैयाँ रहेको छ ।